बारा । गत जेठ २९ गते कलैया उपमहानगरपालिका–१४ बघवन टोलमा भएको नन्दू राउत कुर्मीको हत्यामा संलग्न मुख्य आरोपी उमेश जैसवालसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको अनुसन्धानपछि हत्यामा संलग्न सबै आरोपीलाई पक्राउ गर्न सफल भएको हो। गत जेठ २९ गते बेलुका करिब सवा ६ बजे बघवन टोलस्थित उमेश साहको राईस मिल्स अगाडि ५० वर्षीय नन्दू राउत कुर्मीमाथि कुटपिट हुँदा उनको मृत्यु भएको थियो। मृतकका छोरा २६ वर्षीय दिपेन्द्र पटेलले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
प्रहरीका अनुसार, घटनाको मुख्य कारण मृतक कुर्मीकी नातिनी र करैयामाई गाउँपालिका–७ का गौतम पासवानबीचको भेटघाट थियो। यसै विषयलाई लिएर मृतककी श्रीमतीले प्रतिवादी उमेश जैसवालका कान्छा छोरा सुजित कुमार जैसवाललाई हातपात गरेकी थिइन्। सोही विषयको रिसइबी साँध्न प्रतिवादीहरू नन्दू राउत कुर्मी काम गरिरहेको मिलमा पुगी कुटपिट गर्दा गम्भीर घाइते भएका कुर्मीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
घटनालगत्तै फरार रहेका आरोपीहरूको खोजीमा जुटेको प्रहरीले विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेहरूमा कलैया–१४ बघवन निवासी ३४ वर्षीय दिगम्बर प्रसाद जयसवाल (जेठ ३० गते), उमेश जैसवालकी श्रीमती सोही स्थानकी ३५ वर्षीया रन्जु देवी (असार ४ गते राति), उमेश जैसवालका छोराहरु २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय सुजित कुमार जैसवाल (असार ४ गते बिहान) रहेका छन् ।
यसैगरी, घटनाका मुख्य आरोपी सोही स्थानका ३८ वर्षीय उमेश जैसवाललाई असार ५ गते राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी विजयराज पण्डितले घटनामा संलग्न सबै आरोपी प्रहरी नियन्त्रणमा आइसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए।