ट्रेन्डिङ

सप्तरीमा बुहारीको गर्भ तुहाउने सासू–ससुरा कानुनी फन्दामा

सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा एक हृदयविदारक घटना बाहिरिएको छ जहाँ एक दम्पतीले आफ्नै बुहारीको गर्भ जबरजस्ती तुहाएको आरोपमा पक्राउ परेका छन्।

नगरपालिकाको वडा नम्बर २, सकरदहीका प्रमेश्वर खंग र उनकी पत्नी झुलफूलदेवी खंग ले आफ्नी २० वर्षीया गर्भवती बुहारी सनिसा खंग को गर्भपात गराएको आरोप लागेको छ। प्रहरीले उनीहरू दुवैलाई नियन्त्रणमा लिई भ्रूण हत्याको मुद्दा चलाएको छ।

पीडित सनिसा खंगले प्रहरीसमक्ष दिएको बयानअनुसार, गत मंगलबार राति सासू झुलफूलदेवी खंगले पति प्रमेश्वरको सहयोगमा आफूलाई जबरजस्ती गर्भपतनको औषधि खुवाएकी थिइन्। औषधिको असरले बुधबार बिहानसम्म अचेत अवस्थामा रहेकी सनिसालाई प्रहरीले उद्धार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएको थियो।

तर, अस्पताल पुर्‍याउन ढिलो भएकाले चिकित्सकहरूले उनको गर्भमा रहेको शिशुलाई बचाउन सकेनन्। यसै घटनापश्चात् सनिसाकी सासू झुलफूलदेवी र ससुरा प्रमेश्वर खंगलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिएअनुसार, सासू–ससुरा दुवै जनामाथि गर्भपतनसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको छ।

पीडित सनिसा खंगले आफ्नै गाउँका २२ वर्षीय शिवजी खंग सँग तीन वर्षको प्रेम सम्बन्धपछि एक वर्षअघि विवाह गरेकी थिइन्। शिवजीकै जोडबलमा दुवैले कंकालिनी भगवती मन्दिरमा विवाह गरे पनि तत्काल अलग बसी पढाइ पूरा भएपछि मात्रै सँगै बस्ने सहमति भएको थियो।

तर, गत चैतको पहिलो साता शिवजीले सनिसालाई आफ्नै घरमा लगे पनि प्रमेश्वर र झुलफूलदेवीले सनिसालाई बुहारीका रूपमा स्वीकार गर्न कुनै पनि हालतमा तयार नभएको गाउँलेहरू बताउँछन्।

सनिसा गर्भवती रहेको थाहा पाएपछि सासू–ससुराले उनलाई दिल्ली पुर्‍याएर गर्भपतन गराइदिने योजना बनाएका थिए। सनिसाका अनुसार, सोही योजनाअनुसार उनलाई १२ दिनसम्म बिहारको दौलतपुरमा राखिएको थियो।

तर, पछि सासू–ससुराको योजनाबारे थाहा पाएपछि उनी भागेर फर्केकी थिइन्। घर फर्किएपछि पनि आफूलाई घरमा बस्न नदिएको र पति शिवजीले पनि साथ नदिएको कारण प्रहरीमा जाहेरी दिन बाध्य भएको सनिसाले बताइन्।

केही दिनअघि प्रहरीले दुवै पक्षबीच छलफल गराएर कागज गराई सनिसालाई घरमा बसाएको थियो। तर, त्यसको केही समयपछि नै सासू–ससुराले आफूलाई जबरजस्ती गर्भपतनको औषधि खुवाएको सनिसाको आरोप छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै