वीरगन्ज । नेपालको मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रको समग्र विकास र किसानको जीवनस्तर सुधारका लागि महत्त्वपूर्ण बजेट विनियोजन गरेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि कुल २ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ। यो बजेट विभिन्न नवीन कार्यक्रम र परियोजनाहरूमा खर्च गरिनेछ।
कृषि प्रसार र महिला सशक्तीकरणमा जोड
कृषि प्रसार सेवालाई किसानको घरदैलोसम्म पुर्याउन किसानको वारी, स्वयंसेविकाको छहारी भन्ने नारालाई साकार पार्न प्रदेशका सबै वडामा महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरिएको छ। यसले महिला किसानहरूलाई प्रत्यक्ष सहयोग पुग्ने र उनीहरूको क्षमता अभिवृद्धिमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
सिंचाई पूर्वाधार र कृषि विद्युतीकरणमा लगानी
कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिञ्चित क्षेत्रको विकास र विस्तारका लागि सिंचाइ व्यवस्थापन प्रवर्द्धनमा यथेष्ट रकम विनियोजन गरिएको छ। यसका साथै, भूमिगत सिंचाइ क्षेत्र विस्तार गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि विद्युतीकरण कार्यक्रमलाई बहुवर्षीय आयोजनाका रूपमा निरन्तरता दिन २६ करोड रुपैयाँ छुट्याइएको छ। यसले किसानहरूलाई सिंचाइमा पहुँच पुर्याई लागत घटाउन मद्दत गर्नेछ।
खाद्य सुरक्षा र नगदेबाली प्रवर्द्धन
फिड द नेशन अभियानलाई मूर्त रूप दिन र धानबालीको उत्पादन तथा उत्पादकत्व बढाउन दुईवटा धानबाली प्रवर्द्धन कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरिएको छ। यसले प्रदेशको खाद्य सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी, मूल्य शृंखलामा आधारित व्यावसायिक फलफूल प्रवर्द्धनका लागि पनि बजेट छुट्याइएको छ। यसले फलफूल खेतीलाई व्यावसायिक बनाउन र किसानको आय बढाउन सहयोग पुग्नेछ।
आधुनिक कृषि र प्रविधिमा लगानी
कृषि यान्त्रिकरणको माध्यमबाट उत्पादकत्व वृद्धि गरी कृषि व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउन कृषि यन्त्र उपकरण प्रवर्द्धन सहयोग कार्यक्रममा आवश्यक रकम विनियोजन गरिएको छ। कृषिमा विषादीको प्रयोगलाई निरुत्साहित गर्न र आधुनिक कृषि प्रविधिको अनुसरण बढाउन कृषक पाठशाला सञ्चालनका लागि पनि बजेट छुट्याइएको छ। यसले किसानहरूलाई नयाँ प्रविधि र दिगो खेती प्रणाली अपनाउन प्रोत्साहन गर्नेछ।
क्षमता अभिवृद्धि र लक्षित वर्गलाई सहयोग
कृषि व्यवसायमा संलग्न रहेका र हुन चाहने कृषक, कृषि उद्यमी, कृषि प्राविधिक तथा कृषि मूल्य शृंखलामा आबद्ध अन्य सरोकारवालाहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक रकम विनियोजन गरिएको छ।
यसका अतिरिक्त, हरवाचरवा, विपन्न, गरिब, भूमिहीन तथा सामाजिक रूपमा पछि परेका साना कृषकहरू, एकल महिलालगायतका लक्षित वर्गहरूको परिवारको आय आर्जन तथा जीविकोपार्जनमा टेवा पुर्याउन स्वरोजगारमूलक विशेष कार्यक्रमका लागि पनि रकम विनियोजन गरिएको छ।
पशुपन्छी तथा मत्स्यपालनमा विशेष ध्यान
पशुपन्छी तथा मत्स्यको स्वास्थ्य परीक्षण, रोग निदान, उपचारलगायत विशिष्टीकृत पशु चिकित्सा सेवा प्रदान गर्न आवश्यक रकम विनियोजन गरिएको छ। पशुपालन व्यवसायमा चुनौतीको रूपमा रहेका प्रमुख रोगहरू नियन्त्रण गर्दै पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धिका लागि पशुहरूमा पूर्ण खोप अभियानसहितको कार्यक्रमका लागि पनि बजेट छुट्याइएको छ।
सामुदायिक कृत्रिम गर्भाधानकर्ताका लागि तालिम तथा लजिस्टिक सपोर्टका लागि पनि आवश्यक रकम विनियोजन गरिएको छ। मत्स्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आय आर्जन र पोषण सुरक्षामा टेवा पुर्याउन पोखरीभित्र रेसवे प्रणालीमा मत्स्य पालन, नयाँ मत्स्य पोखरी निर्माण, मत्स्य उत्पादन वृद्धि कार्यक्रमहरूका लागि आवश्यक रकम विनियोजन गरिएको छ। निर्यात प्रवर्द्धनका लागि मासु उत्पादन कार्यक्रममा पनि आवश्यक रकम छुट्याइएको छ।
रैथाने बाली र मखान खेतीको प्रवर्द्धन
मखान खेतीको विकास तथा विस्तार गरी प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा ब्राण्डिङका लागि आवश्यक रकम विनियोजन गरिएको छ। रैथाने बाली ९ओलक, सोहिजन, कोदो० प्रवर्द्धन, संरक्षण, विकास र विस्तार गर्ने कार्यक्रमका लागि पनि बजेट छुट्याइएको छ। यसले स्थानीय उत्पादनलाई बढावा दिन र परम्परागत खेती प्रणालीलाई संरक्षण गर्न मद्दत पुग्नेछ।