ट्रेन्डिङ

१ किलो अफिमसहित पटेर्वा सुगौली गाउँपालिकाका चारजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले एक किलो अफिम जस्तो देखिने लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका निवासी विनोद गिरी, प्रदीप चौधरी, जीतेंद्रकुमार श्रीवास्तव र रमेश राउत रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू दुईवटा मोटरसाइकलमा सवार भएर रजतजयन्ती चोक हुँदै गन्तव्यतर्फ जाँदै थिए। शंका लागेपछि प्रहरीले उनीहरूलाई रोकेर जाँच गर्दा मोटरसाइकलको बीच भागमा राखिएको झोलाभित्र प्लास्टिकले बेरिएको अवस्थामा अफिम जस्तो देखिने लागुऔषध फेला परेको हो ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट ना ४६ प २५४० र ना ४० प ६४६९ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूलाई लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

पर्सा प्रहरीले पछिल्लो समय लागु औषधको ओसारपसार तथा कारोबार नियन्त्रणमा कडा निगरानी थालेको जनाएको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै