बारा । बाराको कलैयामा ६ दिन अगाडि भएको हत्या प्रकरणमा प्रहरीले आज थप तीनजनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका–१४ बघवनमा यही २९ जेठमा पुरानो रिसइबीका कारण कुटपिट गरी भएको हत्या प्रकरणमा बारा प्रहरीले आज थप आमाछोरासहित थप तीनजनालाई पक्राउ सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा घटनामा मुख्य आरोपिक कहलिएका उमेश जैसवालकी श्रीमती रञ्जु जैसवाल र छोराद्वय सुमित जैसवाल तथा सुजित कुमार जैसवाल रहेका छन् ।
पक्राउ परेकाहरुमाथि अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
घटना के हो ?
२९ जेठमा बाराको कलैया बघवन निवासी नन्दु राउत कुर्मी र उमेश जैसवालको परिवारबिच विवाद भयो । त्यसपछि विवादले उग्ररुप लिदै गएपपछि जैसवालका परिवारसहितका समूहले ५० वर्षीय राउतलाई मरणासन्न हुने गरी कुटपिट गरे ।
उक्त कुटपिटका कारण उनी गम्भीर घाइते भएपछि प्रहरीले राउतलाई कलैया प्रादेशिक अस्पताल कलैयामा भर्ना गरायो । तर साँझ उपचारको क्रममा राउतको मृत्यु भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राउतको मृत्यु भए लगत्तै प्रहरीले सोही दिन घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय दिगम्बर साह कलवारलाई प्रहरीले नियन्त्रणमा लियो । उनको पक्राउ पछि भएको अनुसन्धान र सबुतप्रमाणको आधारमा प्रहरीले थप तीनजनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
प्रहरीका अनुसार घटनामा उमेश जैसवालसहित ६ जनाको समूह संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि फरार रहेका अभियुक्तहरुको भने खोजी कार्य जारी रहेको प्रहरी दाबी छ ।
मुख्य आरोपी उमेश जैसवाल अझ फरार
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार मानिएका उमेश जैसवालसहित अन्य केही व्यक्ति अझै फरार छन् । फरार व्यक्तिहरूको खोजीका लागि प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ ।
घटनामा ज्यानसम्बन्धी कसूर (हत्या) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।