ट्रेन्डिङ

मेयर हर्कका समर्थक र माओवादी कार्यकर्ता आमनेसामने, धरान तनावग्रस्त

सुनसरी । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा आज शहरको स्थिति तनावपूर्ण बनेको छ।

दुवै पक्षका कार्यकर्ताहरू आमनेसामने भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको बाक्लो उपस्थिति परिचालन गरिएको छ।

विवादको मुख्य जड श्रमदानबाट गरिएको एक कामको भुक्तानीमा देखिएको छ। वडा नम्बर १६ मा ग्याबिन जाली राख्नका लागि श्रमदानमार्फत गरिएको कामको डोर हाजिर बनाएर भुक्तानी मागिएपछि उपमेयर बेघाले त्यसलाई रोकेका थिए। उनको अडान छ कि पहिले नै सकिएको कामलाई कानुनविपरीत निकासाका लागि दबाब दिइएको छ र यसमा उनले अनुगमन वा समर्थन गर्न सक्दैनन्।

यसको प्रतिउत्तरमा, मेयर हर्क साम्पाङ पक्षले उपमेयर आइन्द्र बेघालाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भएका हुन्। मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रमा आपतकालीन अवस्था हेरेर जनताको घर बचाउन तत्काल काम गरिएको भन्दै आफ्नो पक्षको बचाउ गरेका छन्।

आज दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षमा दुईजनाबीच विवाद भएको र त्यसको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका मेयर हर्कका समर्थकहरू उपमहानगर कार्यालय आइपुगेका थिए।

मेयरका समर्थकहरूले ‘विकासविरोधी उपमेयर चाहिँदैन, राजनीतिक दलहरू चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए। यसको जवाफमा माओवादी कार्यकर्ताहरूले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन’ भन्दै नारा लगाएका थिए।

नेकपा माओवादी केन्द्र धरान कमिटीका अध्यक्ष उद्धव लिम्बूले मेयर साम्पाङले आफ्ना समर्थकलाई उचालेर उपमेयरमाथि अभद्र व्यवहार गराएको आरोप लगाएका छन्। दुई शीर्ष स्थानीय नेताबीचको यो विवादले धरानको राजनीतिक वातावरणलाई थप जटिल बनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै