वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको यस मुद्दामा अदालतले राणालाई धरौटीमा छाड्ने आदेश दिएको हो। गत चैत्र १५ गतेको प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा झडप भई प्रहरीमाथि हातपात भएको थियो। सोही राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्किने क्रममा राणालाई पक्राउ गरेको थियो।
लामो समय प्रहरी हिरासतमा रहेका राणालाई उपचारका लागि सरकारी वकिलको राय लिएर प्रहरीले छाडेको थियो। हिरासतबाहिर रहेकै बेला उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो।