जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई अन्तिम रूप दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
संवैधानिक प्रावधान अनुसार सदनमा बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने भएकाले यो बैठक महत्त्वपूर्ण मानिएको छ।
मुख्यमन्त्री सतिश सिंहले जानकारी दिएअनुसार, आज दिउँसोदेखि जारी बैठकमा आगामी बजेटका विभिन्न पाटोमा छलफल भइरहेको छ। यस वर्ष प्रदेश सरकारको बजेटको आकार बढ्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। स्रोतका अनुसार, मधेश सरकारले करिब २ अर्ब रुपैयाँ बजेट थप गरेर कुल ४६ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।
बजेट मन्त्रिपरिषद्बाट पारित भएलगत्तै प्रदेश सभामा प्रस्तुत गरिने सरकारको योजना छ। यद्यपि, आज अपरान्ह ४ बजेदेखि नै प्रदेश सभाको बैठकको कार्यसूची रहे पनि, मन्त्रिपरिषद्को बैठक लम्बिएका कारण बजेट भाषण सुरु हुन सकेको छैन। सांसदहरू बजेट प्रस्तुतिको व्यग्र प्रतीक्षामा छन्।