फाइल तस्बिर
सर्लाही । लामो समयको लोडसेडिङको अन्त्य गरी नेपालको ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिएको छ।
हरिवनमा आयोजित एक कार्यक्रममा नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले घिसिङको राष्ट्रसेवामा समर्पित योगदानको कदर गरेको हो। अभिनन्दन समितिका अनुसार, घिसिङको कार्यकालमा देशभर करिब शतप्रतिशत विद्युतीकरण सम्भव भयो र निरन्तर घाटामा रहेको प्राधिकरणलाई नाफामा परिणत गर्न उनी सफल भए।
जलविद्युत र सौर्य ऊर्जा उत्पादनमा उल्लेखनीय फड्को मारी भारत र बंगलादेशसम्म विद्युत् निर्यातको ढोका खोल्दा देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ।
कार्यक्रममा बोल्दै घिसिङले आफ्नो कार्यसम्पादनलाई ‘देश विदेशमा रहेका नेपालीले प्रस्टैसँग देखेको’ दाबी गरे। तर, उनले सरकारले आफूलाई ‘शून्य नम्बर’ दिएको र उद्योगको बक्यौता उठाउने इमानदार प्रयास गर्दा पदबाट हटाइएको आरोप लगाए। उनको यो भनाइले सरकारको निर्णयमाथि सार्वजनिक रूपमा प्रश्न उठाएको छ।
घिसिङले अबको आवश्यकता प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि भएकोमा जोड दिए। उनले लोडसेडिङको अँध्यारो हटे पनि अन्य क्षेत्रमा उज्यालो ल्याउन बाँकी रहेको औंल्याए। उनले हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक करिब ७ खर्ब रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत) आम्दानी गर्न सकिने सम्भावना प्रस्तुत गर्दै जलविद्युतको प्रयोगले प्रदूषण घटाएर हरित पर्यटन र कृषिको विकासमा समेत योगदान पुग्ने बताए।