राजविराज । सप्तरीको राजविराज नगरपालिकामा आज दिउँसो निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पदभार ग्रहण गराउने विषयलाई लिएर चर्को झडप भएको छ।
भ्रष्टाचार मुद्दामा निलम्बित मेयर पक्षका कार्यकर्ता र उपमेयर पक्षबीचको विवादले उग्र रूप लिँदा नगरपालिका परिसर रणभूमिमा परिणत भएको छ। हाल कार्यवाहक मेयर इसरत परविन नगरपालिकाको कार्यालयभित्रै करिब तीन घण्टादेखि थुनिएकी छिन्। बाहिर प्रदर्शनकारीहरूले नाराबाजी जारी राखेका कारण उनी बाहिर निस्कन नसकेको बताइएको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।
निलम्बित मेयरले लगाएको ताला तोडियो, तोडफोड र कुटपिट
घटनाको सुरुवात भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भीमराज यादवले तीन दिनदेखि नगरपालिका कार्यालयमा लगाएको ताला तोडिएपछि भएको हो। उपमेयर परविनले उक्त ताला फोडेर शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गराउन खोज्दा झडप सुरु भएको थियो।
मेयर यादवका समर्थकहरूले उपमेयर परविनलाई कोठाभित्रै थुनेर बाहिर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले नगरपालिका भवनका अधिकांश सिसाहरू फुटाएका छन्। यस क्रममा नगरपालिकाका लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासमाथि कुटपिट भएको छ। घाइते शत्रुधनलाल दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ।
विवादको चुरोः निमित्त प्रशासकीय अधिकृतको नियुक्ति
झडपको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइनु रहेको बुझिएको छ। यसै नियुक्तिलाई लिएर भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मेयर भीमराज यादवले कार्यालयमा तालाबन्दी गरेका थिए, जसलाई आज उपमेयर पक्षले तोडेर पदभार गराउन खोज्दा तनाव सिर्जना भएको हो।
राजविराज नगरपालिकामा जारी यो विवादले यहाँको स्थानीय प्रशासन र शान्ति व्यवस्थामा गम्भीर प्रश्न खडा गरेको छ। स्थिति अझै तनावपूर्ण रहेकाले थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू सतर्क अवस्थामा छन्।