जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज एक ऐतिहासिक समारोहबीच नव निर्मित मैथिली भवनको भव्य उद्घाटन गरिएको छ।
मधेश सरकारको ७ करोड ५० लाख रुपैयाँको लगानीमा मैथिली विकास कोष अन्तर्गत निर्माण सम्पन्न भएको यो भवनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा उपस्थित नेताहरू, साहित्यकारहरू र स्थानीय नागरिकहरूले मैथिली भाषा, साहित्य, संस्कृति र सभ्यताको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनका लागि यो भवन एउटा महत्वपूर्ण ‘कोशेढुंगा’ साबित हुने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनमा मैथिली भाषा र संस्कृतिको महत्वमाथि प्रकाश पार्दै यस भवनले यस क्षेत्रको पहिचानलाई अझ बलियो बनाउन मद्दत पुग्ने बताए। उनले यस्ता परियोजनाहरूले राष्ट्रिय एकता र विविधतालाई सम्मान गर्न प्रेरित गर्ने धारणा राखे।
कार्यक्रमका आयोजकहरूले यस महत्वपूर्ण परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे।
यो भवन मैथिली समुदायको लामो समयदेखिको सपना साकार भएको प्रतिक हो र यसले आगामी दिनमा मैथिली भाषा र संस्कृतिको विकासमा थप गति दिने अपेक्षा गरिएको छ।