सप्तरी । सप्तकोशी नदीमा अभ्यासका क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव बरामद भएको छ।
सशस्त्र प्रहरी बलका अनुसार मनसुनजन्य विपद् व्यवस्थापन अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका जवानहरूको खोजीका लागि परिचालित गोताखोर टोलीले शुक्रबार (आज) बिहान एक जनाको शव फेला पारेको हो।
आज विहान हरिदेब राजबंशीको शवको फेला परेको छ भने अर्का बेपत्ता जवानको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीका डिएसपी पुरुषोत्तम भण्डारीले जानकारी दिए।
उनका अनुसार नदीको बहाव र भू-आकृति अत्यन्तै जटिल भएकाले खोजी कार्य चुनौतीपूर्ण भइरहेको छ।
बिहीबार दिउँसो ३:१० बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा सशस्त्र प्रहरी बलका ५६ जना जवान मनसुनमा सम्भावित बाढी तथा डुबानजन्य उद्धार अभ्यासमा सहभागी थिए।
सोही क्रममा हरदेव राजवंशी र सुरज साउद नामक दुई जना तालिमप्राप्त गोताखोर डुबेर बेपत्ता भएका थिए।
राजवंशी इलामको श्रीअन्तु गणमा कार्यरत भई हाल सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा खटिएका थिए।
साउद पर्साको १३ नम्बर गणमा कार्यरत भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए।
बेपत्ता जवानहरूको खोजीमा सप्तरी र सुनसरीबाट तालिमप्राप्त ६० जना गोताखोरसहित ठूलो संख्या मा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
खोजी कार्यमा दन्तकाली तालिम शिक्षालय, सप्तरीबाट डिएसपीको नेतृत्वमा ४ गोताखोरसहित ३५ जना, ६ नम्बर गण, सप्तरीबाट विपद् व्यवस्थापन तालिमप्राप्त २० जना, र कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट बंगलादेशमा गोताखोरी तालिम लिएका प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारी नेतृत्वको ५ सदस्यीय टोलीसमेत खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।