सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा शुक्रबार राति डकैतीको घटना भएको छ।
डकैतीपछि भएको गोली प्रहार र धारिलो हतियारको आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
सुरुङ्गा नगरपालिका–८ स्थित कान्तलाल चौधरीको घरमा राति करिब १ बजे अपरिचित डकैती समूहले लुटपाट गरेको हो।
डकैतहरू जबरजस्ती घरभित्र पसेर लुटपाट गर्न खोज्दा विरोध गरेपछि चौधरीमाथि गोली प्रहार र धारिलो हतियारले आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनास्थलमै चौधरीको मृत्यु भएको पुष्टि भए पनि गोली वा धारिलो हतियार कुन प्रहारले मृत्यु भएको हो भन्नेबारे प्रहरीले अझै यकिन गर्न सकेको छैन।
घटनास्थलबाट संकलन गरिएका प्रमाणहरूलाई आधार मानेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए।
घटनामा छिमेकी रामाकान्त चौधरी गम्भीर घाइते भएका छन्।
उनी मृतकलाई जोगाउन गएका बेला डकैतको आक्रमणमा परेका थिए। घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
डकैती समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगद रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र डकैत समूहको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।