ट्रेन्डिङ

हत्याको दलदलमा मधेस : चार वर्षमा ३८५ हत्या, महिलाको हत्या झनै डरलाग्दो

जनकपुर । मधेस प्रदेशमा हत्याको ग्राफ ओरालो अवस्थामा छैन । महिला र पुरुषको हत्या सम्बन्धी डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।

गएको चार वर्षमा मधेसमा करिब चार सयको हाराहारीमा नागरिकको हत्या भएको छ । देशको संविधानले नागरिकको शान्ति, सुरक्षा र जीउ धनको रक्षाको ग्यारेन्टी गरेको छ । तर त्यसको बाबजुद पनि मधेसमा आम नागरिकको भने श्रृङ्खलाबद्ध हत्या भइरहेका छन् ।

यसरी सिलसिलेवार नागरिकको हत्याले प्रहरीको काम कर्तव्यमाथि प्रश्न चिन्ह मात्र खडा गरेको छैन, गम्भीर चिन्ताको विषय समेत बनेको छ । प्रहरीको अकर्मण्यताले मधेसका आंगनमा आँसु बगिरहेका छन् ।

पहिला केही घटनाहरु हेरौं, जुन यस्ता छन् । यही मंगलबार (हिजो) सिरहाको लहानमा एक ज्येष्ठ नागरिकको हत्या भयो । लहान नगरपालिकाको वडा नम्बर– १३ गणेशपुर निवासी मुसहरु यादवको कुटपिट गरी हत्या गरियो ।

जग्गाको विषयमा विवाद भएपछि सोही ठाउँमा बस्ने बिना साह र उनको छोरा सुदिप साहले मिलेर कुटपिट गर्दा उनको मृत्यु भएको सिरहा प्रहरी प्रवक्ता बिरेन्द्र पासवानले बताए । उपचारको क्रममा उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

घटनापछि प्रहरीले हत्यामा संल्गन बिना र उनको छोरा सुदिपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । अदालतबाट हत्याका मुद्दामा म्याद थप भइ अनुसन्धान सुरु भएको सिरहा प्रहरीले जनाएको छ ।

यसैगरी करिब ६ महिना अगाडि बारामा प्रहरी भान्सेको गोली हानी हत्या भयो । गएको पुस महिनाको दोस्रो साता बाराका प्रहरी भान्से राजकुमार रुम्बाको गोली हानी हत्या भयो । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थितको सडकखण्डमा एक राउण्ड गोली प्रहार गरी उनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको थियो ।

व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीले त्यतिबेला पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । यो घटनामा राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित संलग्न व्यक्तिहरु पक्राउ परेका थिए ।

त्यसैगरी करिब ८ महिना अगाडि अर्थात् कार्तिक १२ गते महोत्तरीमा एक जना महिलाको शव फेला प¥यो । २६ वर्षीया महिलाको घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा धनुषाको सहिद नगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी २६ वर्षीया मालती मण्डल मृत फेला परेकी थिइन् ।

विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनको मटिहानी नगरपालिका– ५ का राकेश नायकसँग विवाहेत्तर सम्बन्ध थियो । श्रीमतीले विवाहेत्तर सम्बन्धबारे थाहा पाइसकेपछि दुबै जना मिलेर मालतीको हत्या गरेका थिए । यो घटनामा नायक दम्पती पक्राउ परिसकेका छन् ।

कुन वर्षमा कतिको हत्या ?

सिरहा, बारा र महोत्तरीका यी घटनाहरु त केही उदाहरण मात्रै हुन । मधेसमा यसरी हत्या हुने नागरिकको सूचि लामै छ । पछिल्ला चार वर्षमा ३८५ जनाको हत्या भएको मधेस प्रहरीको तथ्यांक छ ।

यो आँकडा एउटा संख्याभन्दा धेरै भयावह संकेत हो, मधेस सुरक्षित भने यसबाट सजिलै पुष्टि भइरहेको छ । मधेस प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७–०७८ देखि २०८१ सालको कार्तिक मसान्तसम्म मात्रै ३८५ जना मारिएका छन्, तीमध्ये १४२ जना महिला छन् ।

मधेस प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ११०, ०७८–०७९ मा १०६, ०७९–०८० मा ११३ र चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५६ जनाको हत्या भएको छ । प्रदेश प्रहरीको विवरण अनुसार प्रदेशका हरेक जिल्लामा हत्याका घटना शृङ्खलाबद्ध भइरहेका छन् । तर त्यसमध्ये सिरहा जिल्ला बढी हत्याको हुने जिल्लाको ‘रेड जोन’ मा छ ।

यो जिल्लामा अन्यको तुलनामा बढी हत्या भएको आँकडा छ । मधेस प्रहरीको आँकडा अनुसार यो जिल्लामा चार वर्षको अवधिमा सिरहामा मात्रै ५७ जनाको हत्या भएको प्रदेश प्रहरीको तथ्यांक छ ।

किन बढ्दो छ हत्या?

मधेसमा गएको चार वर्षको अवधिमा ३७९ वटा हत्यासम्बन्धी मुद्दा दर्ता भएका छन् तर यीमध्ये कतिवटा मुद्दा निष्कर्षमा पुगे ? अपराधीलाई सजाय भयो कि भएन ? भन्ने यकिन तथ्यांक प्रहरीसंग छैन ।

जसका कारण यति ठूला संख्यामा भएका अपराधहरू कसरी ढाकछोप भइरहेका छन् भन्ने गम्भीर प्रश्न उठिरहेको छ । सामाजिक अभियन्ता शिवनाथ यादव यादव भन्छन्, ‘पछिल्लो समय हत्या र हिंसाले प्रदेशलाई पोलिरहेको छ, राज्यका निकायहरूको अकर्मण्यता छरपष्ट भइरहेका छन । जुनकारण अपराधीहरू संरक्षित छन् ।’

यता प्रहरीका पूर्वअधिकारीहरुले भने मधेसमा हिंसात्मक अपराध बढ्नुका मुख्य कारण प्रहरीको निष्क्रियता नै रहेको बताउँछन् । उनीहरुका अनुसार मधेस प्रदेश छिमेकी मुलुक भारतसंग जोडिएको प्रदेश हो, यहाँ खुल्ला सीमाना बढी छन् ।
यसको सााथै राजनीतिक संरक्षण न्याय प्रणालीमा ढिलाइ, मुद्दाहरूको निष्कर्षमा पुग्न वर्षौ लाग्ने अवस्थाका कारण तथा शिक्षा र चेतनाको कमीका कारण मधेसमा हत्याका घटना भइरहेको निवर्तमान एआइजी लालमणि आचार्य बताउँछन् ।

उनका अनुसार शिक्षा र चेतनाको कमीका कारण समुदायमा कानुनी चेतना अझै न्यून छ । जुनकारणले पनि हत्याका घटना हुने गरेको उनका ठम्याइ छ । ‘राज्यका निकायहरू प्रभावकारी र उत्तरदायी बन्यो भने केही हदसम्म समस्याको समाधान निस्किन्छ,’ उनले भने ।

आवेशमा बढी हत्या भइरहेका छन् ः डिआइजी

प्रदेश प्रहरी कार्यालयका अनुसार, हत्या नियन्त्रणका लागि निगरानी बढाइएको दाबी गरिन्छ । तर, एकै प्रदेशमा चार वर्षमा ३८५ हत्या हुनु भनेको योजना कमजोर हुनुको संकेत हो । तर प्रदेश प्रहरीको कार्यालयले भने यसलाइ बेग्लै तरिकाले परिभाषा गरिररहेको छ ।

प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार आवेशमा आएर बढीका घटना भइरहेको देखिन्छ । उनी भन्छन्, ‘प्रदेशमा भएको हत्याका घटनामध्ये ८० प्रतिशत हत्या आवेशका कारण भएको पाइएको छ, योजनाबद्धरुपमा गरिने हत्या कम छन् । यसको साथै रिसिइबी, विवाहेत्तर सम्बन्ध र आर्थिक लाभका कारण पनि हत्याका घटना भइरहेका छन् ।’

यसलाई प्रहरीको अकर्मण्यताले नै घटना घटेको भन्न नमिल्ने प्रदेश प्रहरी प्रमुख चतुर्वेदीको दाबी छ । यो रोकथामका लागि जनचेतना जगाउन जरुरी रहेको उनको बुझाइ छ । साभार : रातोपाटी

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै