ट्रेन्डिङ

मधेशमा चिनियाँ ‘सफ्ट पावर’ विस्तार : शिक्षा र स्वास्थ्यमा दुई परियोजना हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेशमा चिनियाँ संस्थाको सहयोगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सञ्चालित दुई महत्त्वपूर्ण परियोजनाहरूको औपचारिक हस्तान्तरण भएको छ ।

जनवादी गणतन्त्र चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोगमा चाइना ग्रामीण विकास प्रतिष्ठान (CFPA) ले ग्लोबल पिस फाउन्डेसन (GPF) सँगको सहकार्यमा ‘भविष्य उज्यालो बनाउने’ शिक्षा परियोजना र ‘आरामदायी सुत्केरी अभियान’ नामक स्वास्थ्य परियोजना सम्पन्न गरेको हो। यो परियोजना हस्तान्तरणलाई कतिपयले मधेस प्रदेशमा चीनको ‘सफ्ट पावर’ विस्तारको रणनीतिक कदमका रूपमा हेरेका छन्।

यी परियोजनाहरूले मधेश प्रदेशको दुर्गम क्षेत्रहरूमा शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ। शिक्षा परियोजनाअन्तर्गत दुई सामुदायिक विद्यालयलाई डेस्क-बेञ्च, स्मार्ट बोर्ड, ह्वाइटबोर्ड, स्टेशनरी सामग्री र ६०२ सेट विद्यार्थी पोशाक वितरण गरिएको छ।

यसले शैक्षिक पूर्वाधारमा तत्काल सुधार ल्याउनेछ। यस्तै, स्वास्थ्य परियोजनाअन्तर्गत मधेश प्रादेशिक अस्पतालको सुत्केरी कक्षमा वातानुकूलन प्रणाली (AC) जडान गरिँदैछ, जसले सुत्केरी आमाहरूलाई सुविधासम्पन्न वातावरण प्रदान गर्नेछ।

CFPA नेपाल कार्यालयकी निर्देशक सु जोउ झीच्याङले कार्यक्रममा “यस्ता परियोजनाहरूले नेपालका ग्रामीण क्षेत्रहरूमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ” भन्दै मधेसप्रति चिनियाँ जनताको विशेष संवेदना रहेको उल्लेख गरिन्। उनको यो भनाइले चीनले नेपालको दुर्गम र आवश्यकता भएको क्षेत्रमा विशेष ध्यान दिइरहेको स्पष्ट पार्छ।

सन् २०१६ देखि CFPA ले ३० हजारभन्दा बढी विद्यार्थीलाई सहयोग पुर्‍याइसकेको छ भने २०२४ मा GPF र CFPA को सहकार्यमा २५ विद्यालयका १८,००० विद्यार्थी र ९,००० महामारी प्रभावित परिवारलाई जीविकोपार्जन सहयोग प्रदान गरिएको थियो। विपद्को समयमा पनि चीनले नेपाललाई आपतकालीन राहत, आइसोलेसन केन्द्र, सरसफाइ तथा अक्सिजन स्टेसन निर्माणमा सहयोग पुर्‍याएको छ। यी सहयोगहरूले नेपालमा चिनियाँ प्रभावलाई निरन्तर विस्तार गरिरहेको छ।

परियोजना हस्तान्तरण कार्यक्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, चिनियाँ दूतावासका व्यापार परामर्शदाता सिए यु, CFPA नेपालकी निर्देशक सु जोउ, मधेश प्रदेशकी शिक्षा मन्त्री रानी तिवारी, स्वास्थ्य मन्त्री शत्रुधन सिंह लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै