वीरगन्ज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १७ देखि १९ गतेसम्म काठमाडौंमा आयोजित महाधिवेशनले डा. सन्तोष पौडेलको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा अमृता बराल र रामहरि ढकाल उपाध्यक्षमा चुनिएका छन् भने भीमराज सिंह महासचिवमा निर्वाचित भएका छन्। सचिव पदमा भने पर्साका हरेन्द्र यादव सँगै अनुप सिंह क्षेत्री, चन्द्रबहादुर सुनार र रुपा केसीले जिम्मेवारी पाएका छन्।
खुला केन्द्रीय सदस्यतर्फ नहर्व खुर्वा दोर्जे, डा. छितिज बराकोटी, भरत वोहरा, हरि प्रसाद काफ्ले, प्रभुनारायण ठाकुर, हिमाल सिंह ठकुरी, कमल पाण्डे, डा। कालु सिंह खत्री, नवराज पौडेल र रुपेश चापागाईंसहित ९० जना निर्वाचित भएका छन्।
महासंघको सचिव पदमा निर्वाचित पर्सा, वीरगन्ज–२३ प्रसौनी बिर्ताका हरेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफू सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय यादवले संगठनलाई अझै बलियो र प्रभावकारी बनाउँदै अगाडि बढाउने बताए।
भारतको बैंगलोरबाट फार्मेसीसम्बन्धी उच्च शिक्षा हासिल गरेका यादव व्यवस्थापन र औषधि उत्पादनमा कुशल मानिन्छन्। राष्ट्रिय सभागृहमा सम्पन्न यस महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।