वीरगन्ज । छिमेकी मूलूक भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेपछि त्यसको असर वीरगन्ज नाकामा देखिन थालेको छ।
जसकारण मुख्य नाका अर्थात् रक्सौल हुँदै वीरगन्ज आउने यात्रुहरूमाथिको स्वास्थ्य जाँच कडा पारिएको छ । सोमबार महानगर प्रमुख राजेशमान सिंह आफैले वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।
छिमेकी देशमा संक्रमितको संख्या हरेक दिन बढिरहेको अवस्थामा नेपालभित्र संक्रमण फैलन नदिन विशेष सतर्कता अपनाउनु परेको महानगर प्रमुख सिंहले बताए ।
हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउने गरि तयारी अघि बढाइएको उनको भनाइ छ ।
हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको कुनै कमी हुन नदिनेगरी व्यवस्था मिलाइएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको जनाए ।
स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, हाल रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको छ। हेल्थ डेस्कको सरसफाइ र आवश्यक मर्मतसम्भारसमेत सुरु गरिएको छ।
भारतमा पुनः सक्रिय भइरहेको कोभिड संक्रमणका कारण नेपाल प्रवेशद्वारमा सतर्कता बढाउनुको विकल्प नरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।
अहिले नै सचेत भइ आवश्यक तयारी नगरे संक्रमण फेरि बढ्ने भएकाले आफुहरु तयारी अवस्थामा बसेको उनको जिकिर छ ।
हेल्थ डेस्कमा अहिले ७ जना जनशक्ति खटेर स्क्रिनिङको काम गरिरहेका छन् ।