वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगन्ज नाका हुँदै १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
यसमा डिजेल, पेट्रोल, एलपीजी ग्यास, एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल मुख्य रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको कुल आयात मूल्यमा सामान्य गिरावट आएको छ। तर, आयातको परिमाण घटे पनि राजस्व संकलनमा भने उल्लेखनीय वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार, चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा यो अंक ५८ अर्ब ४८ करोड रुपैयाँ मात्र थियो, जसले १०.३१ प्रतिशतको वृद्धि देखाउँछ।