सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलासुस्तीका कारण समयमा काम सम्पन्न नहुनु सबैभन्दा ठूलो भ्रष्टाचार भएको बताएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित निधि भवनबाट आइतबार एकैपटक ६४ वटा सडकको भर्चुअल शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनी भन्छन्, ‘उर्वरभूमीको हिसाबले अन्य प्रदेशभन्दा यो प्रदेश राम्रो हो तर पनि यहाँका जनताहरु गरिब हुनु चिन्ताको बिषय हो ।’
प्रधानमन्त्री ओलीले अगाडि भने “मधेस प्रदेशमा वर्षेनी पानीको सतह कम भएर खानेपानीको समस्या हुने गरेकोले चुरे संरक्षणको नाममा धेरै रकम खर्च भईसकेको छ तर उपलब्धि शुन्य छ ।’
मधेसको भुमि जनक, सीता, विश्वामित्र, सलहेसको भुमि रहेको समेत उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अरु प्रदेशको तुलनामा मधेसको साक्षरता दर कम रहेकोमा दुखेसो पोखे ।
प्रधानमन्त्री ओलीले सो अवसरमा डिजिटल प्रविधिमार्फत एकैपटक मधेसको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक–एक सडक गरी ६४ सडकको शिलान्यास गरे ।
कूल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजनाहरु स्वीकृत भई डीपीआरको कार्य सम्पन्न भईसकेको हो ।
साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा १२ सय ७० करोड रुपैँया खर्च हुने अनुमान छ ।
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाइएको छ ।