ट्रेन्डिङ

भारु सीमा हट्दा मधेश पर्यटनमा नयाँ उत्साह, भारतीय पर्यटकलाई खर्च गर्न सहज

वीरगन्ज । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् भारतीय पर्यटकले नेपाल प्रवेश गर्दा साथमा ल्याउन पाउने २५ हजार भारतीय रुपैयाँ (भारु) को सीमा हटाउने निर्णयले मधेश प्रदेशको पर्यटन क्षेत्रमा ठूलो उत्साह छाएको छ ।

यो निर्णयले विशेष गरी सीमावर्ती मधेशका लागि भारतीय पर्यटक आगमन र खर्च गर्ने क्षमतामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले अब ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ । यसअघि भारत बाहेकका देशका नागरिकका लागि मात्र यो प्रावधान लागू थियो । अझ महत्त्वपूर्ण कुरा, त्यसभन्दा बढी रकम भएमा भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई समेत सहजीकरण गरिने बजेटमा उल्लेख छ ।

मधेश प्रदेश, विशेषतः जनकपुरधाम, वीरगन्ज र अन्य धार्मिक तथा सांस्कृतिक स्थलहरू भारतीय पर्यटकका लागि प्रमुख गन्तव्य हुन् । नयाँ व्यवस्थाले भारतीय पर्यटकलाई खर्च गर्न सहज हुने र उनीहरूले मधेशका होटल, रेस्टुरेन्ट, पसल र अन्य पर्यटकीय सेवाहरूमा बढी रकम खर्च गर्न सक्नेछन् । यसले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष टेवा पुग्ने व्यवसायीहरूको भनाइ छ ।

भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका लागि यो नीति ‘गेम चेन्जर’ सावित हुन सक्छ । यसले धार्मिक पर्यटन, व्यापारिक पर्यटन र सामान्य घुमफिरका लागि आउने भारतीयहरूको संख्या र खर्च दुवै बढाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै