ट्रेन्डिङ

उच्च शिक्षामा पहुँच र गुणस्तर बढाउन मुख्यमन्त्रीसँग मधेशका सामुदायिक क्याम्पसहरूको माग

जनकपुरधाम । मधेश प्रदेशका सामुदायिक क्याम्पसहरूले भोग्नुपरेका दीर्घकालीन समस्याहरू समाधान गर्दै प्रदेश सरकारले ‘अभिभावकत्व’ ग्रहण गर्न नेपाल पब्लिक क्याम्पस संघ, मधेश प्रदेशले जोडदार माग गरेको छ।

संघले आज मुख्यमन्त्री सतिशकुमार सिंह, अर्थमन्त्री सुनीलकुमार यादव र शिक्षामन्त्री रानी कुमारीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उच्च शिक्षामा पहुँच र गुणस्तर बढाउन सहयोगको आग्रह गरेको हो। संघले बुझाएको ज्ञापनपत्रमा मधेश प्रदेशका ४४ वटा सामुदायिक क्याम्पसहरूले भोग्नुपरेका चुनौती र नीतिगत समस्याहरू औंल्याइएका छन्।

‘उच्च शिक्षामा पहुँच र गुणात्मकता’ लाई मूल मन्त्र बनाउँदै जनस्तरबाट सञ्चालित यी मुनाफा रहित क्याम्पसहरूले दूरदराजका महिला, जनजाति, सीमान्तकृत र दलित विद्यार्थीहरूलाई न्यून शुल्कमा उच्च शिक्षामा पहुँच पुर्‍याउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। देशभरका कूल उच्च शिक्षाका विद्यार्थीमध्ये एक तिहाइको भार सामुदायिक क्याम्पसहरूले वहन गरिरहेका छन्।

तर, मानव विकास सूचकांक र साक्षरता दरमा अन्य प्रदेशभन्दा पछि परेको मधेश प्रदेशमा भने सामुदायिक क्याम्पसहरूले उपेक्षा भोग्नुपरेको गुनासो संघको छ। अन्य प्रदेशले प्रत्येक सामुदायिक क्याम्पसका लागि न्यूनतम १५ लाखदेखि अधिकतम ५ करोडसम्म बजेट विनियोजन गर्ने गरे पनि मधेश प्रदेशमा अत्यन्तै न्यून शुल्क र सहयोग मागेर क्याम्पस चलाउनुपरेको बाध्यात्मक परिस्थिति रहेको संघको भनाइ छ।

संघले नियमित तलब व्यवस्थापनमा कठिनाइ, विद्यार्थीको चाहनाअनुसार कक्षा सञ्चालन गर्न असमर्थता, भौतिक सुविधाको अपर्याप्तता, पुस्तकालय सेवाको स्तरीकरणको अभाव, प्राध्यापक–कर्मचारीको स्थायित्व र बढुवा प्रणालीको अभाव जस्ता अनेकन चुनौतीका बिच क्याम्पस सञ्चालन गरिरहेको दृष्टान्त पेस गरेको थियो।

संघ, मधेश प्रदेशले बुझाएको ज्ञापनपत्रमा सामुदायिक क्याम्पसको संरक्षण, विकास र गुणस्तर वृद्धिका लागि निम्न मुख्य मागहरू समेटिएका छन् । संघ, मधेश प्रदेशका अध्यक्ष किशोर कुमार साह र उपाध्यक्ष राधेश्याम शिवाकोटीको हस्ताक्षर रहेको मागपत्र लिएर मधेशप्रदेशका ८ वटै जिल्लास्थित सामुदायिक क्याम्पसका प्रमुख, व्यवस्थापन समिति अध्यक्ष तथा संघका प्रतिनिधिहरू मुख्यमन्त्री निवास पुगेका थिए।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सतिशकुमार सिंहले अबको बजेटले सामुदायिक क्याम्पसहरूलाई अर्थपूर्ण रूपमा समेट्ने प्रतिबद्धता जनाउनुभएको संघका बारा अध्यक्ष अनील मैनालीले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै