वीरगन्ज । पर्साको पोखरिया नगरपालिकास्थित मालपोत कार्यालयमा सेवा प्रवाहको अवस्था दयनीय बन्दै गएको छ। जनशक्ति, प्रविधि र पूर्वाधारको चरम अभावका कारण सेवाग्राहीहरूले दैनिक सास्ती खेप्नुपरेको छ। कार्यालयमा आधारभूत सुविधासमेत नहुँदा सरकारी सेवा लिन आउने सर्वसाधारणले ठूलो मर्का भोगेको गुनासो गरेका छन्।
‘एक घण्टाको काम दिनभर’
कार्यालयमा विद्युत् आपूर्तिको अनियमितता, जेनेरेटरको अभाव र कमजोर कम्प्युटर नेटवर्कका कारण कामकाज बारम्बार ठप्प हुने गरेको सेवाग्राहीहरू बताउँछन्। पोखरियाका एक स्थानीय सेवाग्राहीले आक्रोश पोख्दै भने, ‘एक घण्टाको काम गर्न दिनभर लाइन बस्नुपर्छ, कहिले लाइट जान्छ, कहिले सिस्टम काम गर्दैन।’
कार्यालयको स्थलगत निरीक्षण गर्दा पनि धेरै सेवाग्राहीहरू यस्तै समस्याबाट पीडित देखिएका छन्। कतिपयले त सरकारले यस कार्यालयलाई उपेक्षा गरेको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। हाल कार्यालयमा पर्याप्त कर्मचारी छैनन्, न त आवश्यक प्रविधीय उपकरण नै। जसले गर्दा सामान्य काम गर्न पनि सेवाग्राहीहरूले पूरै दिन खर्चनुपर्ने बाध्यता छ।
तत्काल समाधानको माग
स्थानीय बासिन्दा र सेवाग्राहीहरूले यस समस्याको तत्काल समाधानका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले स्थायी नेटवर्कको सुनिश्चितता, जेनेरेटरको व्यवस्था र आवश्यक जनशक्ति थप गर्न माग गरेका छन्। साथै, कार्यालयमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोग गरिनुपर्नेमा पनि जोड दिएका छन्।
यो समस्या पहिले पनि पटकपटक उठ्दै आएकाले अब भने यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने सेवाग्राहीहरूको भनाइ छ। मालपोत कार्यालय पोखरियामा तत्काल सुधारको आवश्यकता औंल्याएको छ।