कलैया । यातायात व्यवस्था कार्यालय, बारा (कलैया) ले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उल्लेख्य राजस्व सङ्कलन गरेको छ।
जेठको पहिलो सातासम्म कार्यालयले कुल ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो आम्दानी कार्यालयको मासिक औसत लक्ष्यभन्दा बढी रहेको जनाइएको छ। कार्यालय प्रमुख अविन्दर दासका अनुसार, राजस्व सङ्कलन निकै उत्साहजनक रहेको छ। मासिक औसतमा ६१ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भइरहेको उनले जानकारी दिए ।
सवारीसाधन कर शीर्षकबाट ३ करोड ८३ लाख ८७ हजार २६७ रुपैयाँ सङ्कलन भएको छ, जुन कुल राजस्वको सबैभन्दा ठूलो हिस्सा हो। सवारी चालक अनुमति पत्र (नयाँ) शीर्षकबाट १ करोड ६९ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ।
अनुमति पत्र दर्ता (नयाँ) बाट ८३ लाख ७६ हजार रुपैयाँ सङ्कलन भएको छ। ३९ लाख ९२ हजार ४० रुपैयाँ पटके करबाट सङ्कलन भएको छ।
यसबाहेक, अनुमति पत्र पास थपबाट २८ लाख ४२ हजार, अनुमति पत्र दर्ता थपबाट ३३ लाख ६२ हजार, अनुमति पत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधबाट ८ लाख २८ हजार ९५० र आयकरतर्फ ८ लाख ६० हजार ५२५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।