ट्रेन्डिङ

पोखरामा युवा संघको १०औँ महाधिवेशन : नेतृत्वका लागि लबिङ तीव्र, थेबे दोहोरिने सम्भावना

वीरगन्ज । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। पोखराको अमरसिंह चौरमा हुने उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। आज साँझदेखि पोखरा सभागृहमा बन्दसत्र सुरु गर्ने तयारी रहेको छ।

नेतृत्वका लागि ५ जनाको आकांक्षा

युवा संघको नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबेसहित उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले आकांक्षा व्यक्त गरेका छन्। युवा संघका नेताहरुका अनुसार क्षितिज, महाराज र सुमनबाट एक जना अध्यक्ष बन्ने सम्भावना बढी छ।

हालका अध्यक्ष क्षितिज थेबेले आफ्नो कार्यकालमा केपी ओली कप फुटबल र युवा महोत्सव जस्ता ठूला कार्यक्रम सफलतापूर्वक आयोजना गरेर एमाले अध्यक्ष ओलीको विश्वास जितेका छन्। त्यसकारण, पार्टी नेतृत्व उनलाई पुनः दोहोर्‍याउन इच्छुक देखिन्छ। यद्यपि, युवा संघका इन्चार्ज राजीव पहारी र पूर्वअध्यक्ष महेश बस्नेत लगायतका नेताहरु थेबेलाई रोक्न लागिपरेका छन्।

पार्टी हस्तक्षेपको सम्भावना, सर्वसम्मत नेतृत्वको अपेक्षा

युवा संघका एक नेताका अनुसार निर्वाचनको सम्भावना कमै छ, किनकि अन्य जनसंगठनका महाधिवेशनमा जस्तै यसमा पनि पार्टीकै इच्छामा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना छ। क्षितिज थेबे पनि सर्वसम्मतिको अवस्थामा मात्र अध्यक्षमा दाबेदारी गर्ने बताइएको छ। निर्वाचन हुने अवस्थामा भने उनको दाबेदारी नरहने उनका निकटस्थ नेताहरु बताउँछन्।

क्षितिज थेबेपछि हालका महासचिव सुमन पुरी अध्यक्षका बलिया उम्मेदवार हुन्। उनी उपाध्यक्ष र महासचिव भइसकेका छन् र निर्वाचन लड्न पनि तयार देखिएका छन्। पुरी लुम्बिनीका पूर्वमुख्यमन्त्री लीला गिरीका भाञ्जा हुन्, जसलाई एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छ।

हालका उपाध्यक्ष महाराज गुरुङ पनि अध्यक्षका बलिया दाबेदार हुन्। उनी पूर्वमन्त्री पार्वत गुरुङका भाञ्जा हुन् र लामो समयदेखि संगठनमा काम गरेको अनुभवले आफू योग्य रहेको बताउँछन्। उपाध्यक्षद्वय प्रकाश गौतम र कृष्णहरि केसीले पनि अध्यक्षका लागि दाबी गरिरहेका छन्।

उपाध्यक्ष र महासचिवका लागि पनि दौडधुप

महाधिवेशनबाट एक महिलासहित दुई उपाध्यक्ष छानिनेछन्। खुला उपाध्यक्षमा राकेश राई, ध्रुव खड्का, मोबिन आलम, राजन थापा र बलराम बेलबासेको चर्चा छ। महिला उपाध्यक्षमा शारदा पछाईं, निशा लिम्बु, रेसु तामाङ र अनुपमा राईको चर्चा छ।

महासचिवमा हालका उपमहासचिव र अधिकांश सचिवको आकांक्षा छ। उपसचिव राजन थापा, सचिव निरोज पौडेल, खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईंमध्येबाट महासचिव बन्ने सम्भावना देखिन्छ।

ओलीको निर्णयको पर्खाइमा आकांक्षीहरु

अध्यक्षमा दाबी गरिरहेका मध्येबाट पनि उपाध्यक्ष र महासचिव बन्ने डर आकांक्षीहरुमा देखिएको छ। आकांक्षीहरुले आफूनिकटका नेताहरुलाई लबिङ गरिरहेका छन्, तर पार्टी अध्यक्ष ओलीले अहिलेसम्म ठोस निर्णय दिएका छैनन्। पार्टीको नीति अनुसार युवा संघको पदाधिकारी १७ बाट ९ मा झर्नेछ र ४० वर्षको उमेर हद पनि लागू हुनेछ। महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ। उमेरका कारण धेरै नेताहरु यसपटक नै मौका पाउनुपर्ने अडानमा छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै