ट्रेन्डिङ

रस्साकस्सीबीच सुरक्षा घेरामा धनुषा एमालेको मतदान सम्पन्न, अबको केहीबेरमा गणना सुरु हुने

जनकपुरधाम । नेकपा एमाले धनुषाको आठौं जिल्ला अधिवेशनअन्तर्गत आज (बुधबार) मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा कडा सुरक्षा घेराबीच भएको मतदानमा ६२८ मतदातामध्ये ६१५ मत खसेको छ, जसले कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता देखाउँछ। निर्वाचन समितिले अबको केहीबेरमा मतगणना सुरु हुने जनाएको छ।

वैशाख २३ मा उम्मेदवारको विषयमा पार्टी सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच चर्को विवाद र कुटाकुट भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो। त्यसैले आजको मतदानलाई कुनै पनि अप्रिय घटना हुन नदिनका लागि सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मीको बाक्लो उपस्थिति र कडा निगरानीले मतदान प्रक्रियालाई शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

एमाले धनुषाको नयाँ नेतृत्वका लागि दुई प्रभावशाली नेताहरू, पार्टी सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, आमनेसामने भएका छन्। दुवै नेताले जिल्ला पदाधिकारीदेखि सदस्यसम्मको छुट्टाछुट्टै प्यानल खडा गरेका छन्।

महासेठ समूहले भोला यादवलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ भने अरगरिया समूहले लक्ष्मीनारायण यादवलाई अध्यक्षका लागि प्रतिस्पर्धामा उतारेको छ। यी दुई समूहबीचको प्रतिस्पर्धाले एमाले धनुषाको आन्तरिक शक्ति सन्तुलनमा कसको पकड बलियो छ भन्ने कुराको पनि छिनोफानो गर्नेछ।

मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणनामा केन्द्रित भएको छ। मतगणना सुरु हुने घोषणाले कार्यकर्ताहरूमा उत्सुकता बढाएको छ। कसको प्यानलले जित्छ र एमाले धनुषाको आगामी नेतृत्व कसको हातमा जान्छ भन्ने कुराको निर्णय अब केही घण्टामै हुनेछ। यो परिणामले धनुषामा एमालेको आगामी राजनीतिक दिशा र पार्टीभित्रको गुटगत समीकरणमा पनि प्रभाव पार्ने निश्चित छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै