वीरगन्ज । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनासम्बन्धी अनुसन्धान पूरा गर्दै प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ।
दुई महिनासम्म चलेको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले डकुमेन्टेसन अन्तिम चरणमा पुर्याउँदै छ। मुद्दा शाखाका प्रमुख एसपी कुलदीप चन्दका अनुसार, प्रतिवेदन तयार भइसकेको र चाँडै वकिल कार्यालयमा पठाइनेछ।
‘अनुसन्धान सकिएको छ। प्रतिवेदन तयार पारेर आज वा भोलिसम्म बुझाउने तयारीमा छौं,चन्दले जानकारी दिए। तीनकुने घटनामा संलग्नहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध जस्ता गम्भीर अभियोग सिफारिस गरिएको छ।
१०८ मध्ये १८ जना अझै फरार रहेका छन् भने बाँकीलाई प्रहरीको हिरासत वा हाजिरी जमानीमा राखेर अनुसन्धान गरिएको छ। राप्रपाका महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित केहीलाई हाजिरी जमानीमा राखिएको छ।
चैत १५ गतेको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए, जसपछिको राति नै राप्रपाका सांसद राणा र उपाध्यक्ष मिश्रलाई ग्वार्कोस्थित बीएन्डबी अस्पतालबाट फर्कने क्रममा पक्राउ गरिएको थियो। प्रसाईंलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो।
ठूलो संख्यामा प्रतिवादी र उच्च प्रोफाइल व्यक्ति संलग्न भएका कारण, प्रहरीले अनुसन्धानका लागि विभिन्न निकायबाट अनुसन्धान अधिकृत अतिरिक्त चार युनिट मार्फत खटाएको छ। यो अनुसन्धानमा करिब २० जना अनुसन्धान अधिकृतहरू खटिएका थिए। प्रहरी स्रोतअनुसार, यस्ता जटिल र संवेदनशील मुद्दामा थप टोली खटाएर गहिरो अनुसन्धान गर्ने चलन पहिलेबाटै रहँदै आएको हो।
संगठित अपराधमा पक्राउ परेपछि ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने कानुनी प्रावधान अनुसार, १५ जेठभित्र मुद्दा पेस गरिनुपर्ने छ। यही समयसीमालाई ध्यानमा राखेर प्रहरीले प्रतिवेदन बुझाउने कामलाई प्राथमिकतामा राखेको छ।