धनुषा । मधेस प्रदेश सरकारले अपमानित गरेको भन्दै सहिद परिवारका सदस्यहरु अनसन बसेका छन् ।
आफ्ना मागहरु लिएर आइतबार बिहान गृह मन्त्रालयमा पुग्दा गृहमन्त्री राजकुमार लेखीले हप्काएर लखेटेको भन्दै उनीहरु अनसनमा उत्रिएका हुन् ।
मधेस सरकारका गृहमन्त्री राजकुमार लेखीसामु समक्ष सहिद परिवारका केही सदस्यहरू माग सुनुवाइका लागि बिहान १० बजे मन्त्रालय पुगेका थिए । त्यहि बेला गृहमन्त्री लेखीले माग सुन्नुको सट्टा गाली गर्दै थर्काएर लखेटेको उनीहरुको आरोप छ ।
मधेस सहिद प्रतिष्ठानका सदस्य अवधेश यादवले आफूहरुलाइ पटकपटक प्रदेश सरकारले अपमानित गरेकाले आन्दोलित बनेको गुनासो गरे । उनी भन्छन्, ‘एक त हाम्रो माग पुरा गर्दैनन्, माग पुरा गराउनका लागि मन्त्रालयमा गयो, उल्टै गाली गलौज गर्दै हप्कीदप्की सुनेर त्यहाँबाट निकालिन्छ । हामी सहिद परिवारलाई प्रदेश सरकारले सार्है अपमानित गर्यो । सहनै नसकेर गृह मन्त्रालय अगाडि आन्दोलित बनेका हौँ ।’
अहिले मधेस सहिद प्रतिष्ठानमा दुई जना सदस्य खाली छन् । सो सङ्गठनमा सहिद परिवारबाटै सदस्य राख्नका लागि केही महिनादेखि उनीहरूले मधेस सरकारलाई आग्रह गर्दै आइरहेका छन् तर सरकारले भने आफूहरूको प्रस्ताव टार्दै आएको उनले गुनासो गरे । सरकारसमक्ष नियुक्तिका लागि निर्णयसहित निवेदन दिएको समेत उनले बताए ।
यसअघि सहिद परिवारका सदस्य ५१ जनाले जागिरका लागि निवेदन दिए पनि २६ जनालाई मात्र जागिर दिइएको उनीहरूको गुनासो छ ।
मधेस सहिद प्रतिष्ठानको रिक्त पदमा नियुक्त गर्नुपर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग उनीहरुको छ । माग पुरा नभएसम्म फर्केर नजाने चेतावनी यादवले दिएका छन् ।