ट्रेन्डिङ

सिर्सिया नदी संरक्षणका लागि वीरगन्ज महानगरसँग उद्योग वाणिज्य संघले सहकार्य गर्ने, यस्तो छ सहमति

वीरगन्ज । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले सुरु गरेको अभियानमा अब उद्योग वाणिज्य संघ वीरगन्जले पनि ऐक्यवद्धता जनाएको छ ।

शुक्रबार वीरगन्ज महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा प्रमुख राजेशमान सिंह र उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको उपस्थिति थियो । कार्यक्रममा संघले सिर्सिया नदी संरक्षण तथा समग्र वातावरण सुधार अभियानमा हातेमालोका लागि सहकार्य जुटाएको हो ।

छलफलमा महानगर प्रमुख सिंहले सिर्सिया नदी यहाँको पर्यावरणीय र ऐतिहासिक सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र पुनर्जीवनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेकोमा जोड दिए ।

‘सिर्सिया नदी हाम्रो सास हो । यसको अस्तित्व संकटमा पर्नु भनेको वीरगन्जको भविष्यमाथि खतरा आउनु हो । औद्योगिक फोहोर, नालाको अव्यवस्थित प्रवाह र जनसहभागिताको अभावले नदी मृतप्रायः बन्दै गएको छ । यसलाई जोगाउन अब हरेक तहबाट पहल हुनुपर्छ’, उनले भने ।

प्रमुख सिंहले महानगरपालिकाले नदीको स्रोत संरक्षण, फोहोर व्यवस्थापन, जैविक पुनरुत्थान तथा जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जनाए ।

साथै, हाल महानगरले अभियानकै रूपमा सञ्चालन गरिरहेको व्यवसाय कर, बहाल कर र सम्पत्ति कर तिर्ने अभियानमा उद्योग वाणिज्य संघको सहयोग रहने विश्वास जनाए ।

उनी भन्छन्, ‘नक्सा पास नगरी संरचना निर्माण नगर्ने प्रवृत्तिको विकास गर्नु आजको आवश्यकता हो । त्यसमा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’

उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि संघ सिर्सिया नदी सफाइ अभियानमा महानगरसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताए ।

उद्योगहरूले वातावरणमैत्री प्रविधिको प्रयोग, फोहोरको उचित व्यवस्थापन र स्पष्ट कार्ययोजना बनाउने प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

उनले भने, ‘पर्यावरणीय उत्तरदायित्वप्रति संघ गम्भीर छ । सिर्सिया नदीमा प्रदूषणको एक हिस्सा औद्योगिक फोहोर हो भन्ने हामी स्वीकार गर्छौं । अबदेखि हामी वातावरणमैत्री प्रविधि अपनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र महानगरसँग सहकार्यमा प्रष्ट योजना बनाउनेछौं ।’

अध्यक्ष गौतमले कर प्रणाली र भवन निर्माण सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा संघले भरपुर सहयोग गर्ने पनि बताए। ‘कानुनी राज्यको सबल पक्ष भनेकै समयमै कर तिर्ने र नक्सा पास गरेर मात्रै संरचना निर्माण गर्ने अभ्यास हो । हामी त्यसको कार्यान्वयनमा दृढ छौं,’ उनले भने ।

छलफलको प्रारम्भमा महानगर प्रमुख सिंहले हालै निर्वाचित अध्यक्ष गौतम तथा उनको टोलीलाई कार्यकक्षमा स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, वातावरणविद् र अन्य सरोकारवालाहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवलाल राजपाल, महासचिव शिवजी प्रसाद साह, नरेस टिबडेवाल, अनुप अग्रवाल, प्रेमचन्द गोयल लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै