सप्तरी । मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले मधेशमा पर्यटन विकासको लागि सबैपक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।
पर्यटन प्रवद्धनलाई प्राथमिकता दिँदै अब छिट्टै ‘मधेश प्रदेश पर्यटन बोर्ड’ गठन गर्ने तयारी थालेको उनले जानकारी दिए । मन्त्री मियाँले पर्यटन ऐन कार्यान्वयनको चरणमा पुगेको जानकारी दिँदै यसका लागि आवश्यक नियमावली अन्तिम चरणमा पुगेको बताए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार सप्तरीको राजविराजमा सम्पन्न ‘स्थानीय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीचको बैठक तथा अन्तरक्रिया, अवलोकन तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै मन्त्री मियाँले मधेशको पर्यटन विकासका लागि साँझा प्रयास आवश्यक रहेको बताए ।
मन्त्री मियाँले मधेश प्रदेशमा पहिलोपटक पर्यटकीय संरचना व्यवस्थापनको प्रयास अन्तर्गत ऐन बनिसकेको र अब नियमावलीमार्फत संस्थागत संरचना तयार पारिने जानकारी दिए । उनले भने, ‘पर्यटन ऐन बनिसकेको छ, नियमावली तयार भइसकेको छ, अब छिट्टै पर्यटन बोर्ड गठन हुँदैछ । यो बोर्ड मधेशको पर्यटन नक्सालाई फराकिलो बनाउने छ ।’ उनका अनुसार बोर्डको माध्यमबाट निजी क्षेत्र, स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य बढाएर पर्यटन प्रवद्धन गरिनेछ ।
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायत वक्ताहरूले सप्तरी र मधेशका अन्य जिल्लामा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र प्रचारप्रसारमा स्थानीय, प्रदेश र संघ सरकारको तिनै तहबाट साझा प्रयास आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमका आयोजक तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले अब पर्यटन विकास नीतिगत र व्यावसायिक ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।