ट्रेन्डिङ

ओडिसा सरकार सक्रिय, केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा उच्चस्तरीय छानबिन सुरु

वीरगन्ज । भारतको ओडिसा राज्यमा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनापछि ओडिसा सरकारले औपचारिक छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ।

राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय प्रहरीलाई बिहीबार राति ८:१० बजे घटनाबारे जानकारी प्राप्त भएलगत्तै वरिष्ठ अधिकारीहरू प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिश्नर लगायतसहितका अनुसन्धानका लागि खटिएका छन्।

” घटनाको कारण पत्ता लगाउन सोधपुछ र प्राविधिक विश्लेषणसमेत सुरु भएको जनाइएको छ।

प्रिसा साह, वीरगन्जकी निवासी र केआईआईटी विश्वविद्यालयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत छात्रा थिइन्।

उनी परीक्षा अवधिमा होस्टेलमै बस्दै आएकी थिइन्। दुर्भाग्यवश, उनको शव होस्टेल कोठामै फेला परेको हो।

यो घटनाले त्यसअघि केआईआईटीकै होस्टेलमा भएको अर्को नेपाली विद्यार्थीको मृत्युको घटनालाई पनि पुनः चर्चा ल्याएको छ।

गत फागुन ४ गते, २० वर्षीया प्रकृति लम्साल पनि सोही होस्टेलमा मृत फेला परेकी थिइन्। दुई महिनाभित्रै सोही होस्टेलमा दुई नेपाली विद्यार्थीको मृत्यु हुनु गम्भीर संयोग नभई चिन्ताको विषयका रूपमा हेरिएको छ।

छानबिन प्रारम्भ भए पनि विद्यार्थीहरूको सुरक्षामा विश्वविद्यालय प्रशासनको भूमिका र निगरानीप्रणालीप्रति प्रश्न उठ्न थालेका छन्।

विद्यार्थी अभिभावकहरू, नेपाली समुदाय र विद्यार्थी युनियनहरूले घटनाको निष्पक्ष छानबिन र पारदर्शी प्रतिवेदनको माग गरेका छन्।

परराष्ट्र मन्त्रालयले समेत घटनालाई उच्च प्राथमिकतामा राख्दै भारत सरकार र नेपाली दूतावासमार्फत पहल सुरु गरिसकेको छ।

घटनाबारे थप अनुसन्धान जारी रहँदा सम्पूर्ण जानकारी सार्वजनिक हुन बाँकी छ। मृतकको परिवारलाई जानकारी गराइएको र आवश्यक सहयोगका लागि समन्वय भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै