काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरु बञ्चित हुनु परेको बताएका छन् ।
मंगलवार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सञ्चालन सम्बन्धमा सरोकारवालाहरुसँग छलफलमा बोल्दै मन्त्री भण्डारीले सही सूचनाको अभावमा युवाहरु रोजगारीको अवसरबाट बञ्चित हुनु परेको बताएका हुन् । मन्त्री भण्डारीले आफु मन्त्री भएर मन्त्रालयमा आएपछि दुई जना युवाहरु भेटेर रोजगारी माग्न आउँदा देशभित्र कसरी एकीकृत रोजगारीको सूचना दिन सकिन्छ भन्ने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसंसार पोर्टलको निर्माण भएको बताए ।
‘यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तीको रुपमा स्थापित हुनेछ, यसले युवाहरुलाई देश भित्र पनि मिहनेत र आत्मविश्वास भर्नेछ ।’ मन्त्री भण्डारीले भने । मन्त्री भण्डारीले देशभित्र सोसफोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरुमा विश्वास जगाउने विश्वास व्यक्त गरे ।
वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण विचौलियाहरुले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा सही सूचना सम्प्रेषण गर्ने उनले बताए । उनले भने, ‘अब सबै स्थानीय तहमा एकिकृत रुपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरुको सही सूचना सम्प्रेषण हुनेछ, यसले विचौलियाहरुको धन्दा बन्द भई आफनै गाउँघरमा ठगी रोकिनेछ ।
मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदुपयोग गरी एकीकृत एकद्धार सूचना प्रणाली स्थापित गर्नु नै मुख्य उदेश्य रहेको बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रमसंसार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट उद्घाटन हुने बताइएको छ ।