जनकपुर । जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा जानकी जन्मोत्सवको अवसरमा भव्य कार्यक्रमहरू सुरु भएका छन्।
जानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा मंगलबारदेखि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको औपचारिक सुरुवात गरिएको छ।
मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा विशेष जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक प्रस्तुतीहरू सञ्चालन गरिनेछन्।
साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ, जसले सम्पूर्ण वातावरणलाई आध्यात्मिक ऊर्जा र भक्ति भावले भरिदिने अपेक्षा गरिएको छ।
विशेष गरी वैशाख २३ गते (मङ्गलबार) लाई जन्मोत्सवको मुख्य दिनको रूपमा मनाइने कार्यक्रम तय गरिएको छ।
सो दिन बिहान सबेरै ५ बजे जानकी मन्दिरबाट सुरु भई दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ। स्नानपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान हुनेछ।
त्यसपछि दिउँसो ४ बजे भव्य डोला शोभा यात्रा निकालिनेछ, जहाँ सुसज्जित डोलामा जानकी माताको प्रतीकात्मक यात्रा गराइनेछ।
साँझ ७ बजे भने दीपोत्सवका साथ विशेष आरती कार्यक्रम आयोजना गरिनेछ, जसमा सयौँ दीवाहरूले जनकपुरधाम झिलिमिली बन्नेछ।
जानकी जन्मदेखि लिएर छठिहारसम्म हरेक दिन जानकी मन्दिरको गर्भगृहमा साँझ ७ बजे जन्म बधाई गान गाइने परम्परा अनुसार यो वर्ष पनि त्यसलाई निरन्तरता दिइने मन्दिर समितिले जनाएको छ।
त्यस्तै, वैशाख २४ गते मटकोर कार्यक्रम आयोजना हुनेछ, जुन जनकपुरधामको धार्मिक संस्कृतिमा विशेष महत्व राख्दछ।
यसमा भक्तजनहरूले माटोको पूजा गरी उपासनाको विशेष विधि पूरा गर्नेछन्।
वैशाख २५ गते भने सीताराम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ, जहाँ पारम्परिक भजन-कीर्तन र धार्मिक झाँकीहरूको समेत विशेष प्रस्तुति रहनेछ।
यसै अवसरमा मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत सञ्चालन हुने जानकारी मन्दिरका महन्थ रामरोशन दासले दिएका छन्।
उनका अनुसार जानकी जन्मोत्सवलाई यसपटक विशेष गरिमामय र ऐतिहासिक बनाउनका लागि व्यापक तयारीहरू तीव्र गतिमा अघि बढिरहेका छन्।
जनकपुरधाम अहिले नै भक्ति र उमङ्गले भरिएको छ। देश–विदेशबाट आएका श्रद्धालुहरू र भक्तजनहरूको उपस्थितिले सहरको वातावरण अझ उल्लासमय बनेको छ।
आयोजकहरूले भक्तजनहरूको सहज आवागमन, सुरक्षा र व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिरहेको बताएका छन्।