काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ भने केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका अन्य भूभागहरूमा सामान्य बदलीको अवस्था छ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।
विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ।
यो अवस्था रातिसम्म कायम रहनेछ।
यसरी चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावनाले दैनिक जनजीवन, कृषि उत्पादन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।