बीरगन्ज । सर्लाही भन्सार कार्यालयमा थन्किएका सवारीसाधन बिग्रिन थालेका छन् । लिलाम नभएर थन्किएका दुइ पाङग्रे तथा चार पाङग्रे सवारी साधन कामै नलाग्ने भइ बिग्रिन थालेका हुन् ।
प्रहरीले बरामद गरि भन्सार कार्यालयमा दाखिला गरेपनि समयमै लिलाम हुन नसक्दा करोडौँ मूल्य पर्ने सवारीसाधन कामै नलाग्ने गरी बिग्रिन थालेको जनाइएको छ ।
भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकासमुनि वर्षौँदेखि राखिएका सवारी साधनमाथि अहिले झारपात पलाएको छ ।
यसरी थन्किएका सवारीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा बेवारिसे बनेका छन् ।
सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारीसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ । भन्सार कार्यालयमा थन्किएर रहेका सवारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए ।
गत आर्थिक वर्षको जेठतिर पाँच सय सवारिसाधन लिलामी गरिएको जनाउँदै उनले मुद्दा टुङ्गो लागिसकेका सवारी साधनलाई चाँडै लिलामी प्रक्रिया अगाडि बढाउने बताए ।
उनका अनुसार भन्सार कार्यालयको पार्किङ (यार्ड) क्षेत्रमा राखिएको सवारीसाधनको सुरक्षाका लागि ट्रस्ट निर्माणको लागि विभागसँग रकम माग गरिएको थियो तर बजेट अभावका कारण ट्रस्ट निर्माण हुन सकेको छैन ।
उनले भने, ‘यातायात कार्यालयको इञ्जिनीयरले सबै गाडी हेरिसकेपछि यसको प्रतिवेदन तयार गरिने छ । प्रतिवेदन प्राप्त गरेपछि मूल्यांकन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।’