वीरगन्ज । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयका लागि दुई अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख रकम मात्रै खर्च गरेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न सकेका छैनन् । ‘चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ’, उनले भने, ‘सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।’ उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउन अनुरोध गरे ।
पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड रुपैयाँ विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशत अर्थात् छ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ । पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा एक खर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने एक खर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय रहेका छन् ।