जनकपुरधाम । मधेश प्रदेश सरकारमा योजना खरिद विक्री हुने गरेको आरोपको जनमत पार्टीको संसदीय दलले निराधार बताएको छ । शुक्रबार जनकपुरमा जनमतको संसदीय दलको कार्यालयमा बसेको बैठकले मधेश प्रदेश सभामा योजना खरिद बिक्री बारे लगाइएको आरोपको निराधार भएको निष्कर्ष निकालेको छ । गत चैत २७ गते प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले सरकारमा योजनाहरु खरिद विक्री हुने गरेको आरोपकोबारेमा जबाफ दिएका थिए ।
मधेश प्रदेश सभामा प्रदेश सभा सदस्यहरुको यस्ता अभिव्यक्ति संघीयताविरोधी रहेको संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ । ‘यस्ता अभिव्यक्तिले संघीयतालाई सुन्योजित तरिकाले समाप्त पार्न मलजल गर्ने हाम्रो ठहर छ ।’ जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले भने, ‘बिना आधार यस्तो आरोप लगाउनु भनेको लाखौं जनताको बलिदानबाट प्राप्त संघीयतालाई समाप्त पार्न खोज्नु हो ।’
नेता यादवले सरकारले दिएको योजनाहरुको गहन छानबिन गर्ने बताए । उनले अहिलेका योजना र भावि योजनाहरु र सरकारको काम कारवाहीको बारेमा मुख्यमन्त्री सतिशकुमार सिंहले विस्तृत कार्ययोजना आगामी संसदीय दलको बैठकमा प्रस्तुत गर्ने जानकारी दिए ।
संसदीय दलको बैठकमा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहबारे पनि आइरहेका आरोपबारे पनि छलफल गरिएको छ । सो क्रममा मन्त्री साहले बैठकमा मौखिक जबाफ दिएका थिए । उनीसँग संसदीय दलको बैठकले लिखित जबाफ माग गरेको छ ।