जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको ११ वटा निजी अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । बुधबार अबेर साँझ स्वास्थ्य संस्था अनुगमन गरेका मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ वटा अस्पताललाई बन्द गर्ने निर्देशन दिएका हुन् ।
बन्द गर्न निर्देशन दिइएका स्वास्थ्य संस्थामा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् ।
बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पु¥याएर मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए ।
यसअघि मुख्यमन्त्री सिंहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवनलगायतका ठाउँमा स्वास्थ्य संस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डविपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिएका थिए ।