काठमाडौँ । सिराहामा यौन दुर्व्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
गृहमन्त्री रमेश लेखकले घटनाबारे चासो राख्दै छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका हुन् ।
पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप छ । उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् ।
जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जाहेरी दर्ता गरेर अनुसन्धान सुरु भएको छ ।
यद्यी इलाका प्रहरी कार्यालय महेशपुर पतारले पीडितले दिएको जाहेरी ढिला दर्ता गरेको पाइएको छ । पुस १० मा मेडिकल गरेपनि जाहेरी दर्ता ढिला गरेको भेटिएको प्रहरी स्रोत बताँउछ ।
करणी उद्योगमा संलग्न दुईजना फरार छन् ।