काठमाण्डौँ । तीनकुने प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी ६ घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौँ महानगरपालिका ३१ बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाको बारबर्दिया २ जोहीगाउँ बस्ने ३४ वर्षीय हेमराज थारु, धादिङको सिद्धलेख गाउँपालिका ४ बस्ने २७ वर्षीय दिवस बोगटी, काभ्रे नमोबुद्ध नगरपालिका १५ की ३० वर्षीय अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ का कुमार तामाङ रहेका छन् ।
उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाण्डौँबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतको मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।