ट्रेन्डिङ

तीनकुने घटनाबारे निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री

शिक्षकको समस्या समाधान गर्ने प्रतिवद्घता

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले गरेको प्रदर्शनमा भएको हिंसा र बल प्रयोगबारे छानबिन हुने बताएका छन् । उनले यसका लागि न्यायिक छानबिन आवश्यक नहुन पनि सक्ने बताएका हुन् ।

शनिबार त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘छानबिन हुँदैछ । न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन ।’

त्यस्तै, शिक्षकहरूको आन्दोलनको विषयमा उनले यसलाई सरकारले नकारात्मक दृष्टिकोणले नहेरेको स्पष्ट पार्दै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिले प्रदर्शन गर्नुहुन्न थियो । किनभने प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भन्ने किन प्रदर्शन गर्ने ? यसपटक आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास भएर आउनुभएको हो ।’

उनले थपे, ‘हामीहरू कुराकानी गर्छौँ, उहाँहरूको कुरा सुन्छौँ । न उहाँहरू सरकार विरोधी हो न सरकार उहाँहरू विरोधी हो । सबै हामी एउटै हौँ । के कति गर्न सकिन्छ, के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न सकिन्छ ।’

‘उहाँहरूसँग आइहाल्नुभएकै छ । सानो डेलिगेसन आएको भए पनि हुन्थ्यो । पहिलेको जस्तो सरकारले सुन्दैन कि भनेर ठान्नु भयो होला,’ उनले भने ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै