वीरगन्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मर्यादा भंग गर्नेहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्साले ‘एक्सन’ लिएको छ ।
पर्सामा एसईई परीक्षाको पहिलो र दोस्रो दिनको परीक्षामा मर्यादाविपरीत काम गरेको भन्दै कार्यालय एक्सनमा उत्रिएको हो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले परीक्षाको नियमविपरित कार्य गर्ने प्रहरी तथा केन्द्राध्यक्षसहित निरीक्षकहरुलाई कारबाही गरेका हुन् ।
उनका अनुसार एसईई परीक्षालाई थप मर्यादित बनाउन प्रहरीहरुलाई चेतावनी र चार जना अधिकारीलाई कारबाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा शनिबार साँझ बसेको बैठकले प्रहरीलाई कडा निगरानी गर्न लिखित आदेश दिनुको साथै केन्द्राध्यक्षसहित चारजनालाई कारबाही गर्ने निर्णय भएको जनाइएको छ ।
कार्यालयले एक केन्द्राध्यक्ष र ३ जना निरीक्षकलाई कारबाही गरेको सिडिओ अर्याल बताँउछन्। जसअनुसार आइतबारदेखि (भोली) चल्ने परीक्षामा प्रवेश रोक लगाउँदै माइस्थान विद्यापिठका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव र सिद्धार्थ मावि चिनी काराखानाका धर्मेन्द्र यादव र रामबालक यादवलाई कारबाही गरिएको सिडिओ अर्यालले जनाए ।
यस्तै द्वारदेवी माध्यमिक विद्यालय अलौंमा अनावश्यक भीडभाँड देखिएकोले अनावश्यक भीडभाँड हटाउने केन्द्राध्यक्षलाई निर्देश दिने र सुरक्षाकर्मीलाई सहयोग गर्ने निर्देशन दिइएको छ ।
त्यसैगरी सबै परीक्षा केन्द्रहरुमा कडा चेकजाँच गर्ने र सो कार्यमा सहजीकरणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
सुन्दरमल रामकुमार कन्या मावि परीक्षा केन्द्रमा नियमिततर्फका विद्यार्थीलाई ग्रेड वृद्धिको र ग्रेडवृद्धितर्फका परीक्षार्थीलाई नियमिततर्फ प्रश्न पत्र दिइएकोले त्यस्तो कार्य नगर्न चेतावनी दिइएको छ ।
त्यस्तै सबै परीक्षा केन्द्रहरुमा परीक्षा सञ्चालनको समय भन्दा ठीक २० मिनेट अगाडि मात्र प्रश्नपत्र खोल्न व्यवस्था मिलाउन निर्देशन दिइएको सिडिओ अर्याल बताउँछन् ।
यो वर्ष जिल्लाभरबाट ९ हजार ८०२ जना परीक्षार्थीले एसईई परीक्षा दिदैँछन् ।