वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको घोषित तालिका अनुसार आज विहानदेखि ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन हुँदैछ ।
ठाकुरराम क्याम्पसमा विहान ८ बजेदेखि मतदानको कार्यतालिका रहेको निर्वाचन प्रमुख दिलीप सिंहले बताए ।
उनका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेकोले विहानदेखि नै मतदानको कार्यक्रम राखिएको छ, जुन ४ बजेसम्म चल्नेछ ।
लगभग १६ वर्ष पछाडि ठाकुरराम क्याम्पसमा निर्वाचन हुँदैछ । त्यसकारण यो पटकको निर्वाचनमा धेरै उत्साह देखिएको छ ।
स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसबाट मात्रै तीन खेमाको उम्मेदवारी परेको छ ।
जिल्ला कांग्रेसले आधिकारिक उम्मेदवार खडा गरेपनि त्यसको अलावा पूर्वसांसद राजेन्द्रबहादुर अ्मात्य र प्रदेश सांसद श्याम पटेलको बेग्लाबेग्लै उम्मेदवार खडा भएका छन ।
योबाहेक अन्य पार्टीका तथा समूहका गरी ११ जनाको उम्मेदवारी परेको छ ।
ठाकुरराम क्याम्पसमा आज हुने निर्वाचनमा १० हजार ७ सय २९ जना मतदाताले भाग लिँदैछन ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।