जनकपुर । सशस्त्र प्रहरी बल मधेश प्रदेशले भारतबाट आयात हुने सेतो अण्डामा नियन्त्रणमा लिन थालेको छ ।
मधेश मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाइ निर्देशन दिएको दुइ साता नबित्दै सशस्त्र प्रहरी बलले सेतो अण्डा नियन्त्रणमा लिन थालेको हो ।
प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट परीक्षण नगरी चोरी पैठारी गरी आयात हुने सेतो अण्डा धमाधम नियन्त्रणमा लिन थालिएको सशस्त्र प्रहरी बल मधेस कार्यालयले जनाएको छ ।
अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई मधेश मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका थिए ।
उक्त निर्देशन लगत्तै सशस्त्र प्रहरी बलले सेतो अण्डाको ओसारपसार तथा बिक्रीवितरणलाई निरुत्साहित गर्न अभियान नै चलाएको छ ।
गत २१ फागुनमा चोरी पैठारी गरी भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई मुख्यमन्त्री सिंहले निर्देशन दिएका थिए ।
पोल्ट्रीजन्य पदार्थको अवैध आयातलाई रोक्न अभियान नै थाल्नुपर्ने र त्यसमा नेपालका पोल्ट्री व्यावसायीसँगै सरोकारवालाहरूले अग्रसरता लिनुपर्ने मुख्यमन्त्री सिंहले औंल्याएका थिए ।
त्यसयता सशस्त्र प्रहरी बलले फागुनमा मात्रै ३ सय २४ क्यारेट सेतो अन्डा बरामद गरी नष्ट गरेको जनाएको छ । यसैगरी चैत २ गते ४५ क्यारेट सेतो अन्डा महोत्तरीमा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताए ।
मुख्यमन्त्री सिंहको निर्देशनपछि सशस्त्र प्रहरी बलले नियमितरूपमा गर्दैआएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा कडा तथा तीव्र बनाएको धौवजीले सुनाए ।
सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यावसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्ड फ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक संघले बुधबार मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराएका थिए ।