
काठमाण्डौँ । तराई मधेशका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया पर्वको सुरुवात गरेका हुन् ।
योसँगै तराईका गाउँघरमा जितियाको उल्लाष छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् । यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन् ।
थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू, संगीत कला मन्दिरले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेका छन् । विशेषत्ः पूर्वको झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउँदै आएका छन् । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने (नाच÷गान) गर्ने चलन छ ।
थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाई÷ लहाइ अर्थात नुहाए खाने दिन आज (मंगलबार), ब्रत (बुधबार) र समापन (बिहीबार) रहेको छ ।
आजदेखि निर्जल उपवास
जितिया पर्व अन्तर्गत आज बिहान निर्जल तथा निराहार उपवास सुरु भएको छ । बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको हो ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै हिजोदेखि यो पर्व सुरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।
श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण (समापन) विधि गरिन्छ । तिथि अनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा खा विधि सम्पन्न भई आज भोलि दिनभरि उपवास बसेर बुधबार साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिए ।
व्रत बस्नुअघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रुपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर आफूले खाएका उनले बताए ।
कसरी मनान्छ जितिया ?
वर्तालु महिलाले व्रतको पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् । पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ ।
आज बिहानै काग कराउनुअघि बर्तालु महिलाले ओगठन सम्पन्न गर्नुपर्ने हुन्छ । ओगठनपछि पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्ने गर्दछन् ।
उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ । जितियाको अन्तिम तथा पारनको दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।
सयौं वर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित पाठकले जानकारी दिए ।