वीरगन्ज । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व तराइमा शुक्रबार मनाइँदै छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
यो पर्वको अवसरमा वीरगन्ज आसपासका वातावरण नै रङ्गीचङ्गी बनाएको छ, बजारमा चहलपहल बढेको छ । होली आएसँगै वीरगन्ज आसपासका बजारमा रङ, पिचकारी र टी–सर्ट बिक्रीका लागि राखिएका छन् ।

मुख्य बजार क्षेत्रको रूपमा रहेको माइस्थान, घण्टाघर क्षेत्रमा रहेको पसलहरूमा रङका प्याकेट, पिचकारी र टिसर्टहरू राखिएका छन् । किनमेल गर्ने बजारमा बिहीबार चहलपहल बढेको छ ।

बजारमा बढी भीडभाँड बढेपछि सदरमुकामको ट्राफिक अस्तव्यस्त बनेको छ । वीरगन्जसहित मधेसमा भोली शुक्रबार मनाउन लागिएको छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
