ट्रेन्डिङ

रिंकु सदायको मृत्यु प्रकरण : अहिलेसम्म १० जना पक्राउ, कति जना अझै फरार ?

सिरहा । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरिसकेको छ ।

१५ दिनको अवधिमा सिरहा प्रहरीले यो घटना संलग्न १० जनालाई अहिलेसम्म पक्राउ गरिसकेको जानकारी दिएको छ ।

प्रहरीले फागुन १३ गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका ८४ वर्षीय चन्द्रेश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
त्यसपछि अहिलेसम्म यो घटनामा प्रहरीले १० जना अभियुक्त पक्राउ गरिसकेको सिरहा प्रहरी प्रमुख रमेश पण्डितले बताए ।

उनका अनुसार सुरुमा पक्राउ परेका अभियुक्तहरुले दिएको बयानका आधारमा त्यसको सात दिन नबित्दै २१ फागुनमै प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डललाई पक्राउ गरेको थियो ।

मण्डललाई पक्राउ गरिसकेपछि थप ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रमुख पण्डितले बताए । उनीहरूसँगै पक्राउ पर्नेमा वडा सदस्य नथुनी साह, रामकृपाल साह, विन्देश्वर साह, राजेन्द्र मण्डल, रामदेव सदाय र करिया मुसहरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

३० माघमा नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्यु पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप छ ।

२६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी रिंकु २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन् । यही अवधिमा आफू बलात्कारको परेको उनले परिवारलाई जानकारी गराएकी थिइन् ।

स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले आफूलाई बलात्कार गरेको रिंकुले सुनाएकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

यो घटनाको चार दिनपछि ३० माघ साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती बसेको थियो ।

यो विषयमा मिलापत्र गर्न भन्दै अहिले हिरासतमा रहेका रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । त्यतिबेला वादविवाद समेत भएको थियो । अर्कोतर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् ।

३० माघमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएकी थिइन् ।
पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

तीन अभियुक्त अझै फरार

रिंकुको मृत्यु प्रकरणमा संलग्न केही आरोपितहरु अझ फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अझ तीन जना यो घटनाका आरोपितहरु फरार छन् ।

प्रहरीको अनुसन्धानमा ती आरोपितहरु सबै भारततिर लुकेर बसिरहेको देखिएको छ । तर त्यसको बाबजुद पनि प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरुको खोजी कार्य गरिरहेको छ ।

प्रहरी प्रमुख पण्डितले भने, ‘केही अभियुक्तहरु भारतका विभिन्न स्थानमाहरूमा लुकिछिपी बस्दै आएका छन्, त्यसमा पनि ठाउँ परिवर्तन गरेर उनीहरु बसिरहेका छन् । जसको सूचना हामीसंग छ, चाँडै सबैजनालाई नियन्त्रणमा लिन्छौं ।’

मुख्य अभियुक्त मण्डल पक्राउ परिसकेकाले घटनाको वास्तविक जानकारीहरु खुल्ने प्रहरीको विश्वास छ ।

रिंकुले आफूमाथि तीन जनाले बलात्कार गरेको बताएकी थिइन् । जसमध्ये एक व्यक्ति अहिले हिरासतमा रहेका रुपेश हुन् भने बाँकी टिंकु मण्डल र चन्दन साहेलालसहित तीन जना भने अझै फरार छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै