वीरगन्ज । सशस्त्र प्रहरी पर्साले भारी परिमाणमा सुन र हिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेटबाट सुन र हिरा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदैँ गरेको सवारी साधन रोकेर जाँच गरेको थियो । सोही क्रममा ५८ लाख ६६ हजार ९२७ रुपैँया मूल्य बराबरका सुन र हिराका गरगहना पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका डिएसपी नरेन्द्र सिंह धामीले बताए ।
उनका अनुसार सशस्त्र प्रहरीले ३६ लाख १५ हजार ८७ रुपैँयाका हिरा र २२ लाख ५१ हजार ८४० रुपैँया मूल्यका सुनको गहनाहरु पक्राउ गरेको हो ।
प्रहरीले १० पिस बाला, १ पिस ब्रासलेट, फेन्सी ब्रासलेट ९ पिस, औँठी र मंगलसुत्र ४/४ पिस, विभिन्न किसिमका गहना ११ पिस, लकेट ४ पिस, झुम्का १३ पिस र टप ६ जोर नियन्त्रणमा लिएको बताएको हो ।
बरामद सुन तथा हिराका गहनाहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।