सिरहा । सिरहाकी रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटना प्रकरणमा पक्राउ परेका अभियुक्तहरुलाइ सार्वजनिक गरिएकको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि अभियुक्तहरुलाइ सार्वजनिक गरेको हो । घटना आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासलाई पक्राउ गरेको जनायो ।
त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
अभियुक्तमध्येका चन्देश्वर, रामविनोद र कमलेशलाई फागुन ११ मै पक्राउ परेका हुन् । यस्तै बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परे । अन्य चार जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट पाँचदिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको तथा फरारहरुको खोजी तिव्र पारिएको प्रहरी बताउँछ ।