७ असोज, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका अधिकांश थुनुवा पक्राउ परेका छन् । हिरासत कक्षको भेन्टिलेसन तोडेर फरार थुनुवाहरुमध्ये अधिकांश पक्राउ परेका हुन् ।
आज विहान भेन्टिलेसन फुटाएर फरार भएकाहरु ९ जना थुनुवामध्ये ७ जना पक्राउ परिसकेको मधेश प्रदेश प्रहरीले जनाएको छ । थुनुवा कक्षबाट थुनुवाहरु फरार भए लगत्तै प्रहरीले चलाएको ‘सर्च’ अभियानका क्रममा दिउँसो १२ बजेदेखि नै फरार थुनुवाहरु पक्राउ पर्न थालेको मधेश प्रदेश प्रहरी प्रवक्ता सुवास चन्द्र बोहराले बताए ।
उनका अनुसार विहान ५ बजे एकजना र बाँकी मध्यान्हदेखि पक्राउ पर्न थालेका हुन् । ५ जनालाई धनुषाको बोर्डर नजिक लखोरीबाट पक्राउ गरिएको धनुुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए । पक्राउ पर्ने थुनुवाहरुमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, वडा नम्बर १ निवासी सुमित मेस्तर, वडा नम्बर ४ का बिकी कार्की, विदेह नगरपालिका वडा नम्बर ७ का रोशन कुमार मण्डल, नगराइन नगरपालिका वडा नम्बर २ का मनिश मण्डल र सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ का अभास्कर कुमार यादव पक्राउ परीसकेको धनुुषा प्रहरीले जानकारी दिएको छ ।
फरार दुुई जनाको भने खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ । बिदेह नगरपालिका वडा नम्बर ७ निवासी रन्जित मण्डल र औरही गाउँपालिका वडा नम्बर २ का बिशाल मुखियाको खोजी तिव्र पारिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
आज बिहानै हिरासतबाट भागेका ९ जनामध्ये १ जना थुनुवालाई प्रहरीले घटनालगत्तै पक्राउ गरिसकेको थियो । बिहान पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ का सत्यम झा रहेका छन् । पक्राउ परेकाहरुमध्ये ४ जना अभद्र व्यवहार मुद्दाका फरार थुनुवा रहेका छन् भने अन्य ५ जना लागु औषध मुद्दाका आरोपित भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मेस्तर, झा, बिकी कार्की र मनिश मण्डल अभद्र व्यवहारका थुनुवा हुन् भने अमित कुमार झा, रोशन कुमार मण्डल र अभास्कर कुुमार यादव लागु औषध मुद्दामा पक्राउ परेका थिए ।
४ सय प्रहरी परिचालन
प्रहरीले हिरासत कक्षबाट थुनुवा फरार भइसकेपछि जिल्ला प्रहरी कार्यालयमा मात्र हलचल ल्याएन, त्यसको कम्पन देश भरि नै फैलियो । प्रहरीको सुरक्षा घेरा तथा निगरानीबाट नै थुनुवा भागेपछि प्रहरीको चौतर्फी आलोचना मात्र भइरहेको थिएन, सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको थियो ।
यत्र,तत्र, सर्वत्र आलोचनाको केन्द्रबिन्दू बनेपछि जनकपुर प्रहरीले फरार थुनुवा खोजीविन सुरु ग¥यो । त्यसका लागि मधेश प्रदेश प्रहरीसंगै आफ्नो जिल्ला प्रहरी कार्यालयको प्रहरी पनि परिचालन ग¥यो । थुनुवा खोजीका लागि मधेश प्रहरी र जिल्लाको गरी करिब ४ सयको संख्यामा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी प्रवक्ता बोहराले जानकारी दिए ।
उनका अनुसार प्रदेश प्रहरीबाट करिब २ सय र बाँकी जिल्लाबाट गरी ४ सयको हाराहारीमा प्रहरी खटाइएको छ, जसका कारण फरार थुनुवाहरु फेला परेका हुन ।