ट्रेन्डिङ

नाकाबाट हुने पोल्ट्रीजन्य पदार्थको अवैध तस्करी रोक्न सुरक्षा अधिकारीलाई मुख्यमन्त्री सिंहको कडा निर्देशन, भने- तत्कालै तस्करी रोक्नुहोस, सुरक्षाकर्मी खटाउनुहोस

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमानाकाहरूबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मधेश प्रहरी कार्यालयका प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई बुधबार यस्तो निर्देशन दिएका हुन् ।

विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न दुबै निकायका प्रमुखलाइ मुख्यमन्त्री सिंहले कडा निर्देशन दिएका हुन ।

सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यावसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्ड फ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक संघले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।

मुख्यमन्त्री निवासमा भेट गर्दै कुखुरापालक व्यावसायीहरूले देशको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षणका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग गरेका थिए।

यही मागलाइ तत्काल सम्बोधन गर्नका लागि मुख्यमत्री सिंहले सुरक्षा निकायका प्रमुखलाइ निर्देशन दिएका हुन ।

सुरक्षा निकायका प्रमुखलाइ उनले भने, “अवैध आयात नियन्त्रण गर्न आयातीत वस्तुको बिक्रीवितरण निषेधमा जोड दिनुपर्छ , यसका लागि साना व्यापारीमा अवैध तरिकाले भित्रिएका पोल्ट्रीजन्य पदार्थबाट जनस्वास्थ्यमा पर्नसक्ने नकारात्मक असरका बारेमा पनि चेतना जागृत गर्नुपर्छ ।”

उनले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता पदार्थको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री सिंहको यस्तो निर्देशन आएपछि मधेश प्रहरी प्रमुख आचार्यले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न पहिलो चरणमा चेतनामूलक प्रचारप्रसार गरिने र दोस्रो चरणमा कानुनअनुसार कारबाही गरिने बताएका छन ।

सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख धौवजीले विभिन्न नाकाबाट अवैध ढंगले भित्रिने पोल्ट्रीजन्य पदार्थको नियन्त्रणमा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले निरन्तर काम गरिरहेको सुनाए । तर अब त्यस काममा थप कडाइ गरिने  उनको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै